"आफ्नै एउटा कोठा र पाँच सय": भर्जिनिया वुल्फ
वर्षमा महिलाहरुका बारेमा कतिवटा पुस्तक निस्कन्छन् भन्ने कुरा तपाईंले ख्याल गर्नु भएको छ ? तपाईंलाई केहि थाहा छ ती मध्ये कतिवटा पुस्तकहरु पुरुषद्वारा लेखिएका हुन्छन् ?विभिन्न विदेशी श्रष्टाका साहित्यिक श्रृजनाहरु पढ्ने क्रममा भर्जिनिया वुल्फको ‘आफ्नै एउटा कोठा’ (अ रुम अफ वन्स अन)भन्ने कृति हात लाग्यो । खासमा एक अर्कालाई आफूले पढेका कृतिहरु पढ्ने सल्लाह दिने क्रममा एलिजा बैनीले मलाई यो कृति पढ्ने सल्लाह दिएकी थिइन् । मैले अलि नजिक भएका हरेक स्त्रीलाई र केहि पुरुषलाई प्रिती कौरको ‘मिल्क एण्ड हनी’ पढ्ने सल्लाह दिने गरेको छु । हो त्यही पढि सकेपछि उसले भर्जिनीया वुल्पको कृति पढे नपढेको कुरा सोधेकी थिई ।
अबको सय वर्षमा, मेरो आफ्नै स्थितिलाई हेर्दा मलाई लाग्छ, महिलाहरु एउटा संरक्षित लिंगको रुपमा रहने छैनन् । उनीहरुले पहिले रोक लगाइएका सबै क्रियाकलापहरु गर्नेछन् । सुसारेले कोइला उचाल्ने छिन् । पसले महिलाले इन्जिन चलाउने छिन् । महिला एउटा संरक्षित लिङ्ग हुँदा स्थापित सबै मान्यताहरु हराएर जानेछन् ।
एक शताब्दि अघिकी लेखिकाको कृतिहरू आफैमा इतिहास पनि हो । त्यस बेलाको महिला लेखनको स्तर र उनीहरुले लेख्ने विषयवस्तुको ज्ञान पनि ती कृतिमार्फत हुने गर्छ । त्यस्तै महिलाहरुको कृतिमा उनीहरुले प्रथमव्यक्ति अनुभूतिमा आधारित रहेर महिलाको कुरा पनि गर्न सक्छन् । पुरुषले अनुमानका भरमा महिलाहरुको भावनाको अड्कल काटेका कृति भन्दा पनि महिला स्वयंले आफ्ना बारेमा लेखेका कृतिहरु नवीनतम हुन्छन् । हो यस्तै नवीनताको आभास वुल्फको यो कृतिमा पाइन्छ ।
‘स्वास्नी कुट्नु’ मैले पढेँ, ‘ लोग्नेमान्छेको मान्यता प्राप्त अधिकार थियो र त्यसको अभ्यास उचा र निचा सबैले बिना लाज गरेका थिए ... त्यसैगरी’, इतिहासकार थप उल्लेख गर्छन्, ‘आफ्ना आमाबाले रोजेको केटासँग विवाह गर्न अस्वीकार गर्ने छोरीलाई कोठामा थुन्ने, कुट्ने र लछारपछार गर्नेसम्म गरिँदा कसैलाई पनि अचम्म लाग्दैन थियो । विशेष गरी सम्भ्रान्त वर्गमा, विवाह व्यक्तिगत मायासँग सम्बन्धित घटना भन्दा पारिवारको भौतिक आवश्यकता मेट्ने बाटो थियो । प्रायसः कोक्रोमा हुँदै या नर्सको हातबाट नछुट्दै विवाह छिनिने गथ्र्यो । त्यो जोफरी चसर पछि, सन् १४७० तिरको कुरा हो ।’ त्यसको दुई सय वर्ष पछिको अवस्थाका बारेमा पनि खासै फरक छैन । ‘मध्यम वर्गीय र उच्च वर्गीय परिवारमा जीवनसाथी छान्नका लागी महिलाहरु त्यतिबेला पनि स्वतन्त्र थिएनन् । ...। शेक्सपियरका महिला (उनका नाटकका पात्रहरु) पनि व्यक्तित्व र चरित्रका हिसावले रुचाइने खाले छैनन् ।’
वुल्फले महिला लेखनको इतिहास खोजी गर्ने क्रममै महिलाको सामाजिक अवस्थाका बारेमा पनि खोतलेकी छिन् । त्यो इतिहासका कुराहरु पढ्दा हाम्रा गाउँ समाजको झल्को पनि देखिन्छ । समस्या यति मात्रै हो कि वुल्फले आज भन्दा कम से कम सय वर्ष अघिको कुरा लेखेकी छिन् तर हाम्रो समाजमा महिलाहरुको त्यस्तो स्थिति अझै पनि व्याप्त छ र छिट्टै मेटिने अवस्था पनि देखिँदैन ।
काल्पनिक रुपमा ऊ अति महत्वकी थिईः व्यवहारमा हेर्दा ऊ महत्वहीन थिई । ऊ काव्यरुमा पहिलो देखि अन्तिम पानासम्म थिई तर इतिहासमा उपस्थित थिइन । उसले आख्यानहरुमा राजा र विजेताहरुको जीवनलाई अधिनस्थ बनाएर राखेकी थिईः तर वास्तवमा ऊ कुनै एउटा केटाको दास थिई जसका अभिभावकले बलपूर्वक उसको औँलामा एउटा औँठी घुसारी दिएका थिए । (चसर देखि शेक्सपियरको पालासम्मका महिलाहरुका सन्दर्भमा उल्लेख गरिएको)
पुरुषका साहित्यको पात्रका रुपमा मात्रै चित्रित महिलाहरुले आफै भने कुनै नाम निशाना छोडेका थिएनन् । अरु त अरु इतिहासमा समेत उनीहरुको अवस्था उल्लेख थिएन । महिला हिंसा ग्राह्य थियो । महिलाको मत उनीहरुकै व्यत्तिगत जीवनसँग सम्बन्ध राख्ने विवाह जस्तो कुरामा पनि गौण थियो । हिन्दी र नेपाली सिनेमामा नायिकाका बाबुले नायकबाट छुटाउनका लागी लछारपछार गरेको, कोठामा थुनेको, विभिन्न भावात्मक कुराहरु गरेर उसको इक्षा विपरित उसको विहे गराएको जस्ता कुराहरु कुनै समय वेलायत जस्तो सभ्य मानिएको समाजको यथार्थ थियो भनेर पढ्दा पश्चिमा सभ्यताले ओढेको मुकुण्डो उदाङ्गिन्छ ।
न उसले आफ्नो जीवन लेखी न कुनै डायरी नै राखीः उसका केहि गिन्तीका चिठीहरु मात्रै अस्तित्वमा छन् । उसले कुनै कविता र नाटकहरु नै छोडिन जसका आधारमा उसको मूल्याङ्कन गर्न सकियोस् । (मध्यम वर्गकी महिलाका बारेमा उल्लेख कुरा)
वुल्फले एउटा गज्जबको उदाहरण दिएकी छिन्। उनले शेक्सपियरकी बहिनी यदि केहि गरी शेक्सपिपयर जत्तिकै प्रतिभाशाली भएको भए उसको कला र साहित्य तर्फको यात्रा कस्तो हुने थियो होला भन्ने भनेर एउटा काल्पनिक कथा पनि बुनेकी छिन् । शेक्सपियरले आफ्नो ज्ञान र दक्षता बढाउन जुन खाले वातावरण र साथ समाज र परिवारबाट पाए त्यो उनकी बहिनीका लागी कत्तिको सम्भव थियो भनेर उनले लेखेकी छिन् । पढ्न खोज्दा आमाबाले घरेलु कामकाजमा लगाएको, उमेर नपुग्दै विवाह छिनेको र नमान्दा कुटपिट पछि भावनात्मक तरिकाले उसलाई दबाब दिइएको, केहि सीप नलागेर घरबाट भागेर सहर पस्दा पनि हरेक ठाउँबाट उपहास गरिएको, एक जना कला–व्यवस्थापकले दया गर्दा उसले ती व्यवस्थापकको पेट बोक्नु परेको र अन्तिममा केहि शीप नलागेर ज्यान दिनु परेको र मरेपछि उनलाई गाडिएको चौराहाबाट सार्वजनिक गाडी गुड्ने गरेको कुरा पढ्दै गर्दा पश्चिमा समाज विगतमा (केहि हदसम्म हालसम्मै पनि) महिलाका हकमा कतिसम्म कठोर थियो भन्ने अनुमान लगाउन गाह्राे थिएन। अभिनयको अवसर खोज्दा पेट बोक्नु परेको प्रशंगले नयनराज पाण्डेयको यारको एक प्रसंग सम्झाएको थियो । पाण्डेले अभिनयको अवसर खोज्न आएकी एकजनासँग विवाह इतरकाे सम्बन्ध राख्न पुगेका थिए ।
एमली ब्रोन्टे, शार्लोट ब्रोन्टे र एन ब्रोन्टेले एलिस बेल, करेर बेल र एकटन बेलको छद्म नमबाट लेख्नु परेको प्रसंग पढ्दा महिला बौद्धिकतालाई कुन हद सम्म समाजमा निषेध गरिएको थियो भन्ने कुरा प्रष्ट हुन्छ । महिला लेखन कत्तिको ग्राह्य थियो भन्ने कुरा जनाउन अर्की चर्चित महिला लेखक जेन अस्टिनले आफ्ना पाण्डुलीपि लुकाएर वा छोपेर राख्ने गरेको प्रसंङ्गले पनि उजागर गर्छ । यिनै कुरा पढ्दै गर्दा क्लालिफोर्नीया स्टेट युनिभर्सिटीको लैङ्गिक विभेदको कक्षामा पहिले पहिले महिलाहरु काम पाउनका लागी पुरुषको भेष बनाएर समेत रहने गर्थे भन्ने प्रसङ्ग पनि याद आयो ।
‘एउटा गरीव कविले अचेल मात्रै होइन, पछिल्ला दुई सय वर्षहरुमा पनि, कुकुरको जति पनि अवसर पाएको थिएन ।...। अब्बल साहित्यहरु जन्मने वौद्धिक स्वतन्त्रतामा खुलारुपमा प्रवेश गर्नका लागी खासमा वेलायतको एक गरीव बालकसँग एथेन्स् (ग्रिस)को एक दासको छोराको भन्दा अलिकति मात्रै बढि आशा छ ।’ सर आर्थर क्वीलर–काउच
साहित्य लेखक कसले गर्ने र साहित्य कसले गर्छ भन्ने कुरामा धेरै मतहरु छन् । वालकृष्ण समले ‘जसल केहि गर्न सक्दैन त्यसले कविता गर्छ’ भन्थे । सौरभले साहित्य लेखनका लागी लेखकको आर्थिक अवस्था दरो हुनु पर्ने कुरा असंगतिमा लेखेका छन् । देवकोटा गरीव भनेर भनिएको भएपनि उनी देशको शिक्षा मन्त्री भइसकेका मान्छे थिए । सम कुलीन परिवारकै थिए । डायमण्ड सम्सेर पनि त्यस्तै हुन् । अरु धेरैका हकमा पनि त्यो कुरा लागु हुन्छ ।
त्यहि कुरा पश्चिमा साहित्य जगतको लागी पनि लागु हुन्छ । त्यसैले वुल्फले विभिन्न विद्वानका भनाइहरुलाई आफ्नै पारामा यसरी लेखेकी छिन्ः
यदि आख्यान लेख्ने हो भने वर्षमा पाँच सय र एउटा ताल्चा भएको ( अाफ्नाे नीजि) कोठा हुनु जरुरी छ ।
साहित्य भिडभाडमा लेखिने कुरा पनि होइन । साथ जस्तै एकान्त पनि साह्रै महँगो चिज हो । त्यस्तै खुला दिमागले लेख्नका लागी कुनै किसिमको आर्थिक अभावको सामना गर्नु परेन भने न त्यस्तै किसिमको साहित्य सिर्जना हुन्छ । नत्र अभाव र कष्टका बीच सिर्जना हुने साहित्य भनेको हम्रै समाजमा चल्तिको ‘रुन्चे साहित्य’ मात्रै हो । कि त अभावमा पनि अघोरी तालमा बाँच्न सक्ने नगरकोटी जस्तो हुन सक्नु प¥यो । त्यसको लागी अदम्य साहस चाहिन्छ र त्यो दीर्घकालका लागी सम्भव पनि हुँदैन ।
रुसोले भने जस्तो मानिस जन्मदा मात्रै स्वतन्त्र हो । त्यसपछि उ विभिन्न खाले जञ्जिरले बाँधिन्छ । ती जञ्जिरले उसलाई स्वच्छन्द भएर रहिरहन दिँदैन । सम्बन्धहरु र ती प्रतिको दायित्व पनि त्यस्तै जञ्जिरहरु हुन् । व्यक्तिगत आवश्यकता पनि त्यस्तै जञ्जिर हो । वुल्फले आर्थिक सम्पन्नता र व्यक्तिगत ठाउँको कुरा महिलाका लागी गरेको भएपनि यो कुरा पुरुषहरुको लागी पनि उत्तिकै सहि हुन जान्छ ।
सन् २०१५ मा ट्रम्बो भन्ने एक चलचित्र आएको थियो । त्यसमा सन् १९४० देखि सन् १९५० ताका सिनेमाको पटकथा लेखक डाल्टन ट्रम्बोले गरेको संघर्षको एकदमै मनछुने चित्रण छ । लेखनले परिवारलाई कतिसम्म लथालिङ्ग बनाउँछ र एउटा कुशल जीवनसाथीले त्यो अवस्थामा पनि कसरी साथ दिन सक्छे भन्ने गज्जबले देखाइएको छ । उनैले छद्यम नाममा लेखेको रोमन होलिडे निकै नै चर्चित चलचित्र हो ।
माक्र्वेजका बारेमा धेरै पढि सकेपछि उनले कसरी लेखेका थिए भनेर पनि खोतलेको थिए । माक्र्वेज अठार वर्षको हुँदा उनले आफ्ना बाजे बज्यैको कथामा उपन्यास लेख्ने सोचे । परिवारसँग कतै जाँदै गर्दा एकाएक उपन्यासको कथा फु¥यो र उनी बाटोबाटै फर्किए । पुस्तक लेखनका लागी १ वर्षको समय तोकेका उनले एक वर्षलाई पुग्ने पैसा जोहो गर्न आफ्नो गाडी बेचेर आफ्ना लागी एक वर्षको स्वतन्त्रता किनेका थिए । पारिवारिक दायित्व पुरा गर्नका लागी गाडी बेचेर जोहो गरिएको रकमले एक वर्ष त काट्यो तर लेखन नसक्किँदा परिवारले निकै हण्डर खानु परेको थियो । नौ महिना सम्म घरधनी देखि किराना पसलेसँग ऋणैऋण हुन गयो । विभिन्न बैकल्पिक अन्त्यहरुको प्रयोग पश्चात किताव पुरा भयो र ३० मिलियन प्रति विक्रि भयो ।
‘सन् १८६६ देखि महिलाहरुको लागी बेलायतमा दुईवटा क्याम्पसहरु अस्थित्वमा छन्, १८८० देखि विवाहित महिलालाई कानुनले आफ्नै सम्पत्ति राख्न पाउने छुट दिएको छ, र ९ वर्ष अघि सन् १९१९ मा उसले मताधिकार पनि पाएकी छ ।’
महिला लेखनको इतिहास वा भनौ महिलाहरुले अधिकार पाउन थालेको कथा सय वर्ष पनि बितेको छैन । असमानताका कारण सबै महिलाको एकै किसिमको स्तर अझै पनि छैन । केहि ईर्ष्या लाग्ने गरी स्वतन्त्र छन् भने केहि अझै पनि वुल्फका विवरणमा उल्लेख गरिएका १५ औँ शताब्दीका वेलायती महिलाको जीवन जिउन बाध्य छन् । तर सम्भावनाहरु धेरै छन् । पहिलेको तुलनामा महिलाहरुका लागी अवसर पनि बढेका छन् । थप अवसरकार लागी उनीहरुको अग्रसरताको पनि खाँचो छ ।
नेपाली साहित्यकै कुरा गर्ने हो भनेपछि वि.सं. २०७४ वर्षमा महिला लेखकको बोलबाला रह्यो भने पुरुष लेखक कमै चर्चामा आए । यो आफैमा ठूलो उपलब्द्धिको कुरा हो । संख्यात्मक वृद्धिका साथसाथै गुण्स्तरमा पनि वृद्धि आयो र साहित्यमा चिन्ता मात्रै नभएर चिन्तन पनि लेखिन थालियो भने त्यसले समाजलाई अझै अघि बढ्न मद्दत गर्दछ ।
जुन समाजको आधा जनशक्ति चुलो चौकामा खेर गएको छ त्यो समाज अगाडि बढ्न निकै नै गाह्रो हुन्छ । एक पांग्रे रथ गुडोस् त कति गुडोस् ? एक खुट्ट मात्रै टेकेर कति नै टाढा पुग्न सकिन्छ र ? यही कुरा सबैले बुझ्न जरुरी छ ।
मैले पढेका पुस्तकहरु मध्येबाट वुल्फको यो कृति एकदमै पठनीय पुस्तक मध्येको एक हो । महिला र पुरुष दुबैका लागी यो उत्तिकै रुचिकर बन्छ । लेखनमा रुचि राख्ने महिलाहरुका लागी विशेष र पुरुषहरुका लागी पनि यसले ठूलो प्रेरणा र पथ प्रदर्शकको काम गर्छ । अस्तु !
कृपया यस्तै लेख रचना पढ्नका लागी फेसकुबमा पछ्याउन सक्नु हुनेछः
फेसबुकः https://www.facebook.com/notionsNemotions/
sources:
https://de.wikipedia.org/wiki/Geschwister_Bront%C3%AB
https://en.wikipedia.org/wiki/Dalton_Trumbo
https://en.wikipedia.org/wiki/Gabriel_Garc%C3%ADa_M%C3%A1rquez
Image sourc: Saraswati Pratikshya's Facebook
Wall

Comments
Post a Comment