हिट्लर र यहुदीः विपी कोइराला (पुस्तककाे लिंक सहित)
“मलाई कुनै मानवपुत्रले लाञ्छनाले औँल्याउन सक्तैन । दोषमुक्त निर्मल प्राणीहुँ म । आफ्ना लागि मैले केही पनि गरिनँ –धन, सम्मान, इन्द्रिय–सुख, पत्नी–प्रेम सबैलाई तुच्छ पारेँ –म निस्पृह संन्यासी थिउँ जीवनभरि । म केबल एक लक्ष्यले जर्मन राष्ट्रको उत्थानका लागि एकनिष्ठासँग संलग्न रहेँ । एक पैसा बैंकमा जोरिनँ, घर बनाइनँ, प्राणजस्ती प्यारी एभाको प्रणय निमन्त्रण अस्वीकार गरिरहेँ, अन्तिम क्षणसम्म–त्यस अन्तिम क्षणसम जब मर्नुभन्दा केही घडीअघि शत्रुको पल्टन मेरो बङ्करसम्म पुगिसकेको थियो । मैले भनेँ –एभा प्यारी अब मेरो अन्तिम क्षण आयो । जीवनको काम मेरो समाप्त भयो । अब फुरसत छ मलाई, तिम्रो दैवी प्रेमको स्वादका लागि ..... मृत्युपूर्वको बस एक चुम्बन । प्रमाण अरु के चाहियो मेरो देव लोकाधिकारको ?”हिट्लर र यहुदी स्कुले उमेरमै पढेको पुस्तक हो । विपि कोइरालाका कथा संग्रह बाहेकका सारा साहित्कि पुस्तकहरु मैले स्कुले उमेरमै पढि भ्याएको हो । त्यसैले केहि धमिला यादहरु बाहेक पुस्तकको खासै गुदि केहि याद थिएन । हालसालै हिट्लरको यातना गृहमा ज्यान गुमाएकी यहुदी वालिका एनी फ्रान्कको डायरी पढेपछि यसको याद फेरी ताजा भएको हो । हिट्लर र यहुदी लगायत विपिका सारा पुस्तकहरु अनलाईनमै रहेकाले यसलाई एकपटक फेरी पढ्ने उत्कट इक्षा लागेको थियो । पढिसकेपछि अन्य विपिको साहित्यका अन्य पारखीहरुका लागी पनि केहि लेखौँ भनेर यो पाठकानुभुति लेख्दैछु । मैले यो पुस्तकको उतिसारो चर्चा सुनेको छैन जबकि यो पुस्तक पढि भ्याउँदा त्यसो हुनु असामान्य लाग्यो । यो त बरु उल्था समेत हुनु पर्ने पुस्तक हो ।
म निष्ठुर होइन कदापि । निष्ठुरा एउटा भावावेग हो –उत्तेजनापूर्ण क्रिया जसबाट म मुक्त भन्ठान्छु आफूलाई । यथार्थमा, म दयाबाट पनि मुक्त छु, किनभने दया पनि भावनाप्रधान ततव भएकोले मैले त्यसलाई विषजस्तो त्यागेको छु । गिता सर्वश्रेष्ठ ग्रन्थ हो । दैवत्वविहीनको धर्म प्रतिपादित छ त्यसमा –सांसारिक कर्म गीताको कर्म हो । त्यो एउटा त्यस्तो महान् आध्यात्मिक ग्रन्थ छ जसलाई आ–आफ्नो अखण्डनीयताका लागि धर्मशास्त्रीयहरुले ईश्वरको भर पर्नु पर्दैन । कृष्ण् र अर्जुनको कथा एउटा रुपक मात्र हो –सोद्देश्यले लेखिएको नीतिकथा– एउटा आख्यान हो । ईश्वर भनेको उत्तेजनारहित मानव हो – लिप्सामुक्त, स्पृहाबाट मुक्त व्यक्ति । मानव त्यस्तो ईश्वर हो जो आसक्तियुक्त छ ।
विपिका तमाम साहित्य जस्तै यसमा पनि म पात्रको कथा छ । क्यान्सर रोगले पिडित म पात्रले उपचारका क्रममा भारत देखि वेलायत, जर्मनी, फ्रान्स र इजरायल सम्मको यात्रा तय गरेका छन् । यसै क्रममा हिट्लर र यहुदीसँग सम्बन्धित अनेक पात्र, स्थान र घटनाका साक्षी भइ रहन्छन् । मुलतः यही नै उपन्यासको विषयवस्तु हो । क्यान्सर पिडितको उपचार यात्रामा हिट्लर र यहुदीको कथा जोड्न उनले अपनाएको शिल्प प्रशंसनीय छ । आफ्नी गर्भिणी स्वास्नीका अघि यहुदीका बच्चालाई हिट्लरको यातना गृहमा जिउँदै आगोमा पोलेको कुरा र त्यसो गर्नुलाई ‘आलु पोलेको’ भनेर भनिएको कुराले यहुदीहरुमाथिको चरम यातना र नाजीहरुको क्रुरतम तस्वीर कोर्न खोजिएको छ ।
क्षणको भोग कलाकृति जस्तो हो, आनन्द दिने, विकृत मस्तिष्क मात्रै ‘मोनालिसा’ लाई कोट्याएर त्यसपछि के छ भनेर हेर्न खोज्छ ।
यहाँ भने एउटी केटी समुद्रतिर पिठ्यूँ फर्काएर मेरा अगाडि उभिएकी छ । सृष्टिको समस्त सुन्दरता र निर्दोषतार्लाइ आफूमा केन्द्रीभूत गरेर । ऊ भन्छे–तस्वीरको रङ्गलाई कोट्याएर त्यसको मर्म बुझ्ने प्रयत्न नगर । जे छ बाहिर छ, छर्लङ्ग छ ....जीवन बाहि छ, उदाङ्ग छ, उघ्रिएको ....
हिट्लर र यहुदीको कथा निकै विषादपूर्ण हुन सक्थ्यो । त्यसमा रमाइला पक्ष वा आशाका कुराहरु केहि नहुन पनि सक्थे । विपिले त्यसो एकसुरे बन्न दिएका छ्रैनन् । उनले क्यान्सर उपचारको क्रममा थप उपचारका लागी जहाजबाट बेलायत पुग्ने क्रममा लेखकलाई रेवासँग भेटाइदिएका छन् जसको खुल्ला विचारले म पात्रलाई र पाठक स्वयंलाई पनि निकै नै आनन्दित तुल्याउँछ ।
विज्ञान आखिर अनुमान (Assumption) मा आधारित छ, मानवीय स्तरको सीमित अनुभवको आधार छ त्यसको । त्यसो हुनाले विज्ञानको विकास भनेको अनुमानमा भइरहेको परिवर्तन हे । मित्र, साइन्स पनि विश्वास हो, केवल त्यो निम्नकोटीको ।रेवासँगै जहाजमा हिन्दु धर्मका कट्टर समर्थक नारायणन पनि यात्रा गरि रहेका छन् । उनीसँग एक अंग्रेजको वादविवादको प्रसंग् हिन्दी सिनेमा मस्ते लण्डनमा अक्षयकुमारले अंग्रेजलाई भारतीय सभ्यताको बारेमा बोलेको दृश्यको सम्झना दिलायो । ईश्वर र विज्ञानको बीचमा डेकार्टेको दुविधाको सिद्धान्त नल्याउन आग्रह गर्दै आध्यात्मलाई उच्चकोटिको विज्ञान भनेर स्थापित गराएका छन् ।
प्रत्येक मानिस प्रलय–छायामुनि जीवन बिताउँदा रहेछन् । मुटुमा प्रलय लिएर हिंड्दा रहेछन्– प्रत्येक मानवसम्बन्धमा प्रलयको सम्भावना हुँदो रहेछ ।विचार विमर्शको बीचमा पात्रहरुको सम्बन्धको उतार चढाव पनि लेखकले समेटेका छन् । फ्रायडवादी यौन मनोविज्ञानलाई नेपाली साहित्यमा भित्र्याउने साहित्यकारका रुपमा चिनीने विपिको पात्रको मनमा पसेर त्यसको चित्रण गर्ने शिल्पको जो कोहि पाठक पनि कायल हुन्छ । हिट्लर र यहुदीमा पनि त्यस्ता थुप्रै ठाउँहरुमा विपिले पात्रको चरित्र चित्रणमा अब्बलता प्रस्तुत गरेका छन् ।
यहुदीहरुको चित्रणमा विपिले अलि पूर्वाग्रह राखेका हुन् कि भन्ने भान भने मलाई अन्तिमसम्म पनि रहिरह्यो । जहाजमा सँगै यात्रा गरिरहेका गोल्डबर्गको विधवा विवाह गरेर धन आर्जन गरेको कथा र उनको छोरोको आफू भन्दा बढि उमेरकी श्रीमति मेकडोनल्डसँगको सम्बन्ध देखाएर यहुदीहरु कति व्यापारिक मनोवृत्तिका हुन्छन् भन्ने कुरा उनले देखाएका छन् । यो यहुदीहरुका माथि लाग्ने गरेको सामान्य आरोप हो । उनीहरु भारतका गुजराती जस्तै या नेपालका नेवारहरु जत्तिकै व्यवसायिक वुद्धिका हुन्छन् भनेर मान्ने गरिन्छ ।
कुनै देशलाई अस्वाभाविक किसिमबाट बाहिरको भौगोलिक क्षेत्र त्यसमा गाभेर या त्यस्तै अस्वाभाविक किसिमबाट त्यसबाट कुनै क्षेत्र चुँडेर ठूलो सानो बनाउन सकिदैन, यद्यपि त्यस्तो कृतिम भौगोलिक खण्ड–त्यसलाई एउटा प्रशासकीय क्षेत्रअन्तर्गत राखियोस्–केही वर्षअघि हिन्दुस्तान, बर्मा र लङ्का आजकाल– भारत र पाकिस्तान जस्तै । आजकालको विश्वव्यापी अशान्ति, युद्धग्रस्तताको कारण जाति र देशहरुको असामञ्जस्यपूर्ण – अस्वाभाविक गठन हो । मध्यकालीन युग यस दृष्टिबाट ज्यादा सामञ्जस्यपूर्ण थियो, त्यसैले ज्यादा शान्तिम पनि ।सानै देखि विपिका साहित्यिक रचनाहरु पढे पनि उनका बारेमा लेखिएका भएभरका रचना पढ्ने प्रयास गरे पनि उनीमाथि पारिजातले लाएको आरोप बाहेक अन्य आरोपका बारेमा सुनेको थिएन । पारिजातले विपिलाई साहित्यकार मान्दैन थिन् । त्यसको कारण दुबै विपरित राजनीतिक विचार धारामा विश्वास गर्ने भएकोले पनि हुनसक्छ या पारिजातले आफ्नो शिरीषको फूल जलाउन भने जस्तै मनस्थितिमा विपिको साहित्यको बारेमा टिप्पणी गरेको पनि हुन सक्छ । तर त्यसका अलावा उस्तो नराम्रो कहिँ पढेको थिएन । हालसालै देशमा राष्ट्रवादी खोजीको क्रममा विपिमाथि असमान सन्धी र भारतीय प्रतिनिधिलाई संसदमा बस्न दिएको कुराले उनको राष्ट्रवादी चरित्रका सन्दर्भमा शंका उठेको थियो । यसमा पनि उनका राष्ट्रियतासँग सम्बन्धित वृहत परिभाषा पढ्न पाइन्छ । उनी खासमा सांस्कृतिक हिसाबले भारत र नेपालमा खासै अन्तर देख्दैन थिए । यो कुराले उनका राजनीतिक कदमहरु पनि प्रेरित भएका हुन् कि भन्ने लाग्यो ।
प्रत्येक मानिस, प्रत्येक जाति नियतिको छाप लिएर जन्मिन्छ ।कतिपय ठाउँमा निकै नै जातीय कुरा गरे जस्ता पनि लाग्छन् । हुन त त्यो उपन्यासको पात्रले व्यक्त गरेका कुरा हुन् तर उपन्यासका पात्र त लेखले जन्माउने कुरा हो । उनीहरुबाट चाहे जस्तो बोलाउनलाई लेखकलाई कस्ले छेक्छ र ?
समाजभन्दा माथि उठेर हेर्ने बानी ग¥यौ भने नैतिकता अप्रासङ्गिक कुरा लाग्छ । त्यसैले जोगीलाई हाम्रो धर्मले धेरै छुट दिएको छ, समाज मर्यादाको उलङ्घन जोगीहरुको वशको शक्ति सम्पन्नताको प्रमाण हुन्छ ।नैतिकता सम्बन्धि मेरो धारणा पनि विपिका भन्दा अलग छैन । मलाई लाग्छ पशुको नैतिकता हुँदैन । पशु अवस्थामा मान्छेको पनि थिएन । सभ्यताका अन्य कुराहरु जस्तै नैतिकता पनि मानवीय आविष्कार हो । यसको परिभाषा पनि मानिस पिच्छे फरक छ ।
भारतबाट ११ दिन लगाएर येमनको एडन, रेड सी, इजिप्टको पोर्ट सैद, इटालीको नेपल्स, फ्रान्सको मार्सेली, भूमध्यसागर र अन्धमहासागर जोड्ने स्पेनको गिब्राल्टार हुँदै बेलायतको टेलबरीसम्मको यात्रा मार्गको गुगल म्याप्स हेर्दै जाँच्दा उनको बयान सतप्रतिशत सहि भेटियो । विपिका पालामा त गुगल म्यापको अस्तित्व नै थिएन । त्यसैले यो उपन्यास पढि रहँदा विपिले उपन्यासमा आफ्नै यात्रानुभव राखेका हुन् कि भनेर अन्तिम अवस्था सम्म पनि लागिरह्यो ।
नारीलाई कस्तो अवलम्बित पारेको ईश्वरले । लाग्छ, पुरुषको अवलम्बन नभई ऊ आफ्नो दुई गोडामा उभिन पनि सक्तिन । तर त्यो अवलम्बन नै कति वाञ्छनीय, नारी जीवनको आधार नै पुरुष भएर होला ।विजय कुमार पाण्डेयले पटकपटक दिशा निर्देशमा भन्ने गर्छन्, कुनै एक कालखण्डको कुरा अर्को कालखण्डको चस्मा लाएर हेर्नु न्यायोचित हुँदैन । विपिका उपन्यासमा पनि हालको चस्माले हेर्द कतिपय कुरा खड्किन सक्छन् । त्यसलाई कसरी लिने भन्नेकुरा पाठकमा भर पर्छ ।
रेवा जस्तै स्वीडेनमा भेटिएकी ग्रेटा अर्की खुला सोच भएकी नारी पात्र हो । विपिका लेखनमा नारीका स्वच्छन्द रुपहरु मनग्गे पाइन्छन् । हिट्लर र यहुदीमा पनि लक्ष्मी, रेवा र ग्रेटाको चरित्रहरु तुलना गर्दा त्यो फरक थाहा पाउन सकिन्छ ।
- पुरुषलाई मैथुनिक एकनिष्ठता स्वाभाविक छैन, नारीलाई त्यो सहज स्वाभाविक छ क्यार ।
- दुनियाभरिमा सबभन्दा बेसी विवाहातिरिक्त सम्बन्ध स्वीडेनका निवासीहरु राख्छन् ।
- समृद्धिले शायद वैवाहिक सम्बन्ध शिथिल पार्छ क्यार । कमसेकम त्यसको आर्थिक कारण लोप हुन्छ ।
- विवाह सम्बन्धी सोच पनि निकै पृथक देखिन्छ । यो अहिलेका कतिपय नेपालीहरुले सोच्न समेत नसक्ने सोच हो । पश्चिमा जगतमा त यो सोच निकै अघि स्थापित भइ सकेको थियो । मलाई लाग्छ विपिले पश्चिमा सभ्यताको विवाहसम्बन्धिको विकसित परिभाषा नेपाली पाठकमाझ पु¥याउन खोजेका हुन् ।
- मैले सोधें –प्रेम नि ?
- छोरीले भनी – प्रेमको विवाहसँग के सम्बन्ध ?
- जापानीले भन्यो – तपाईंहरुको जस्तो प्रेम भन्ने कुरा हामी बुझ्दैनौँ । के हो त्यो ? हाम्रा लागि त्यो दुई तत्वको कुरा हो – यौन र कर्तव्य ।
- विवाह भनेको करको सम्बन्ध होइन
- करको सम्बन्ध नभएकोले बाँधिएर बस्ने के कर छ ?
- प्रेममा वासना भएन भने तिमी पनि धेरै कुरा उम्केको थाहा पाउँदैनौ, प्यारा हिन्दु ।
- सतीको पुरुषवाची शब्द के छ तिम्रो शास्त्रमा ?
उः त्यो विल्हेल्म (विल्हेल्म चर्च)को भग्नावशेष देख्छौ । त्यही हो हाम्रो प्रतीक–भग्नदेवस्थल, देवशून्य संसार ।लण्डनको उपचार सकेर स्वीडेन, जर्मनी र फ्रान्स पुगेर उनले विश्वयुद्धले ध्वस्त भएका सहरहरु, केहि बन्नलागेको दृश्य, हिटलरको प्रसंग, युद्ध उमेरको मापक बनेको, लगायतका कुराहरु समावेश गरेका छन् । थियोडोरा, उसको भाइ र प्रेमी रुडोल्फको कथाले जर्मन पक्षको कथा समेटेको छ । यो सब को शुत्रपात गर्ने हिट्लरको चिहान रातो माटोको थुप्रो मुनि हराएको छ ।
गिरिजाङरकाे टुप्पाे अझै पनि भत्केकाे छ ।
श्राेत विकिपिडिया, Kurfürstendamm
किन जान्छौ, के छ र हेर्ने कुरा ? तिमीलाई पनि कस्तो चाख ? राम्री कलिली आइमाई–बाँचेकी म जस्ती राम्रीलाई छाडेर मरेका मानिसहरुको चिहान हेर्न खोज्छौ ? नजाऊ ।युद्धमा हारेका जर्मन पक्षको विपिको उतिबेलाको चित्रण र अहिलेको उनीहरुको अवस्थामा आकास पातालको फरक छः कहाँ शरीर बेचेर आमाबाबा पालि रहेकी, अंग्रेजी सैनिकले दिएको लिपिस्टिक सकिँदा रातो कागज चपाएर ओठ र गाला रातो बनाइ रहेकी, हानोभरकी इल्जे अर्थात प्यारी लिजे र कहाँ आजको जर्मन जनता । हानोभर नजिकको हिट्लरको बन्दिगृहको भ्रमणका क्रममा हिट्लरसँग १९१४ मा विश्वयुद्धमा भाग लिएको खोरण्डो सिपाहीले मपात्रलाई ती यातनागृहको यात्रा गरउँछ । खारानी बाँकि राखिएको मान्छे पोलिने भट्टि र लिङ्ग अनुसार छुट्टयाइएकाजुत्ताको पहाडको प्रसंगले नाजी जर्मनीको क्रुरताको पाटो उघारेको छ ।
‘स्नानागार’ बुझेनौँ ? ही...ही ....ग्यासचेम्बर । हाम्रो जर्मन हृदयको कलिलोपन यसैले स्पष्ट पाछ–तिनलाई ती शत्रुहरुलाई मार्ने ठाउँमा पठाउँदा पनि उनीहरुको मनलाई अनावश्यक चोट नपरोस् भनेर उनीहरुसँग क्याम्पका गार्डहरु भन्थे–हेरहेर कस्ता फोहरी, जाऊ नुहाउने ठाउँमा सुग्घरी होऊ । साबुनले मली मली फोहरामुनि नुहाऊ । एकछिन सबैको अनुहार उज्यालो हुन्थ्यो, केटाकेटी भन्न थाथे नाके स्वरमा –ल जाऊँ, नुहाउने कोठामा जीव, जीआमा ...चाँडै हिंड्न । स्नानागारमा साबुनको जस्तै डल्लाहरु खोपा खोपामा राखिदिएको हुन्थ्यो र फोहोरा छाड्ने खालका धाराका मुख र सिलिङ्गमा झुन्डिएका पनि हुन्थे । तर ती डल्ला साबुनका होइनन् ढुङ्राका, र फोहोराबाट पानी झदैनथ्यो –ग्यास आउँथ्यो एकैछिनमा काम तमाम .... ।एकातिर उनले हिटलर र नाजीको क्रुरताको हृदयविदारक चित्रण गरेका छन् भने त्यसको लगत्तै उनले हिट्लर र एक यहुदीको स्वर्गको द्वारमा स्वर्गलोको अधिकारको बहस छेडेका छन् । सम्पूर्ण उपन्यासको एदमै छुने भाग यो पनि हो । यहुदीलाई उनले कालोबजारी गर्ने, भतिजिसँग सम्भोग गर्ने, छिमेकीको सहयोग नगर्ने, दश आज्ञा भंग गर्ने, लगायतका आरोपले स्वर्ग पस्न नपाउने बनाएका छन् भने अर्को तिर हिट्लरलाई गिताको अर्जुन बनाएर स्वर्गको बलियो अधिकारीका रुपमा उभ्याएका छन् । उनले यहुदीहरुलाई लगाएको आरोप नाजीहरुले समेत लगाएका आरोपहरु हुन् । तिनै आरोपहरुले यहुदीमाथि युगौँदेखि थिचोमिचो हुने गरेको छ । हिट्लरलाई नायक सरह उभ्याइ रहँदा हिट्लरको विपिमाथिको प्रभाव प्रष्ट हुन्छ । खासमा हिट्लर खलपात्र हुनुपथ्र्यो ।
सन्तुष्टि, आत्मविश्वास र कर्मदक्षताको साक्षात् रुप थियो हिटलर, आफ्नो मृत्यु उपरान्तको त्यस चालमा ।
गिता राजनीतिज्ञहरुका लागि अमरवाणी भएो छ । उनीहरुका लागि यो विज्ञानो ग्रन्थ हो । यस ग्रन्थले भन्दछ–मानिस र शक्ति प्राप्तिको सको लक्ष्यका बीचमा पहाड जस्तो अडिएर रहेको हुन्छ –स्वयं त्यस मानिसको आसक्ति ।
युद्धको लाखौँ लाख प्राणीको हत्या पनि –अवैयक्तिक छ भने –अवैयक्तिक किनभने, हत्याराको वैयक्तिक आसक्ति मुछिन गएको छैन त्यसमा भने –त्यो धर्मसम्मत, पुण्यवान कार्य हुन जान्छ । हिट्लरले भन्यो–आफूलाई उत्तरोत्तर शुद्धीकरणद्वारा शोधित पार्दै लैजान–आसक्ति र लिप्साको मयर क्रमशः पखाल्दै –तबसम्म, जबसम्म आफू बल्दो विशुद्ध इस्पातको एउटा त्यस्तो तीक्ष्णतम धार होइँदैन –त्यस्तो धार जसले शक्ति प्राप्तिमा आइपर्ने सारा विघ्न–बाधालाई विद्ध गर्दै संहार गर्छ । त्यो भन्दा अर्को नैतिकता अरु केही छैन । अर्थात्, महाप्रभु, सर्वसामथ्र्यवान् हतियार बन्नु ।
के हिट्लर, तिमीमा अन्तस्करण तत्व छैन ?
छैन । त्यो त यहूदी चलाकीपूर्ण आविष्कार हो । ––आत्मानं सततं विद्धि
जुन घडीसम्म मेरो उत्पीडन–निरङ्कुशता–कायम रह्यो, तबसम्म म पनि ईश्वर नै भएँ । कविहरुले मलाई आफ्नो कवितामा गाए, शिल्पीहरुले मलाई सङ्गमरमरमा कुँदे, रङ्गमा चित्रित भएँ, चित्रकारद्वारा । नारीहरुले मलाई आफ्नो हृदयमा स्थापित गरे, पुरुषहरुले मेरो पाउमा शिर निहुराए । विद्वान्, प्राध्यापकहरुले मलाई विश्वविद्यालयहरुमा पढाए, विद्यार्थीहरुले अनेकानेक तिाबहरुमा मेरो अध्ययन गरे । मातापिताहरुले आदरका साथ मलाई उचरण गरे, आफ्ना छोराहरुलाई मेरो नाम दिएर सुशोभित पारे–रात–दिन मेरो स्तुतिगान भइरह्यो । संक्षेपमा, म ईश्वर थिएँ । हो, तिम्रो दाँजोमा एउटा सानो ईश्वर ।म पात्र हानोभर नजिकको क्याम्पमा गएको भनिएको छ । हानोभरको सबै भन्दा नजिकमा रहेको क्याम्प वेर्गेन बेल्सेन हो जहाँ एनी फ्रान्कको स्मारक पनि राखिएको छ । सायद हिट्लर र यहुदी लेख्दा एनी फ्रान्कका बारेमा कसैलाई थाहा थिएन । उनको डायरी नै पनि निकै पछि प्रकाशित भएको थियो ।
आँखिर हिन्दुस्तान र नेपालमा के फरक –एउटै भूभाग, एउटै संस्कृति, एउटै इतिहास ।नारायणन पछि डा. भट्टाचार्यले हिन्दुत्वको महिमागानको विणौ थामेका छन् । त्यस्तै राष्ट्रियताको सम्बन्धमा पनि पहिलेकै जस्तो मतलाई निरन्तरता दिएका छन् । तिनै भट्टाचार्यले मैक्समूलरको ‘उपनिषद् मेरो जीवनको सान्त्वना भएको छ र पछि मृत्युको पनि सान्त्वना हुनेछ ।’ भन्ने भनाइ देखि लिएर शोपेनहावर, गेटे(गोथे)को शाकुन्तलको अनुवाद, लगायतका प्रसंगबाट भारतीय वा भनौँ हिन्दु संस्कृतिको गुणगान गरेका छन् । तिनै पात्रले नाजीहरुसँग सहयोग माग्न जर्मनी पुगेका भनिएका भारतीय स्वतन्त्र सेनानी सुवास चन्द्र बोस मार्फत हिट्लर र गितालाई जोडेका छन् । दोश्रो विश्वयुद्धलाई देशहरुको युद्ध नभएर आर्य र अनार्यको युद्धमा परिणत गरि दिएका छन् ।
उसले भन्यो–निश्चय पढेको होला, नेताजीको सत्सङ्गले । म यकीन गरेर भन्न सक्तिनँ, तर उसको जीवनलाई अध्ययन ग¥यो भने सुस्पष्ट हुन्छ, ऊ कर्मयोगी थियो, गिताको शुद्ध अर्थमा ।
काण्ट, हिगेल, माक्र्स, नित्से नबुझ्नेले घोर भौतिकवादी भनेकोप्यारिसको एक दिने भ्रमणमा लुभ्र संग्राहलय देखि नेपोलियनको दरबार र विभिन्न दार्शनिकहरुको एकै बसाईमा बहस गराएर एकदमै खँदिलो खुराक पाठकका लागी तयार गरेका छन् । ‘समाज इक्षाभन्दा व्यक्तिइक्षा ठूलो हो । त्यसकारण व्यक्तिका दमित इक्षा, भावना एवं मनोद्वेगहरुलाई स्वतन्त्र आत्मनिर्णय गर्न दिनुपर्छ ।’
कुण्ड कुण्ड जल, मुण्ड मुण्ड बुद्धि
अन्तस्करण यहूदीहरुको आविष्कार हो, कमजोर जातिको चलाकी जस्तो कि नीत्से भन्थ्यो ।
२०२५ सालमा लेखन सुरु भएको यो उपन्यासका अन्तिम भाग २०३३ मा विपि स्वदेश फर्केपछि उही सुन्दरीजल र त्यसपछि शीतलनिवासको बन्दी कक्षमा थपिएपनि समापन चाहिँ हुन पाएन । पछि लेखिएका पानाहरु पनि प्राप्त हुन सकेनन् । अपूर्ण अवस्थाम नै प्रकाशित भयो ।
अधुरै भएपनि यो विपिको निकै नै अब्बल कृति हो । त्यसैले पनि यसलाई दोश्रो पटक पढेर यसका केहि कुरा बाहिर ल्याउन इक्षा जागेको हो । विपिको साहित्यको तारिफ गर्दा केहि दिन अघि एक जनाले विपिले नोवेल पुरस्कार पाए ? भनेर सोध्दै थिए । साहित्यको गुणस्तरको मापक पुरस्कार केहि हदसम्म हुन सक्ला तर पुरस्कार नपाएका जति सबै पढ्नै नहुने हो तिनबाट सिक्नै नपाइने हो भन्ने तर्क राख्यौँ भने कितावहरुको सूची निकै साँघुरिन्छ ।
![]() |
विपिकाे भ्रमण ताकाकाे बर्लिनकाे काइजर विल्हेल्म स्मारक
Source: Von Unbekannt - Album von Berlin; Globus Verlag, Berlin 1904, Gemeinfrei, https://commons.wikimedia.org/w/index.php?curid=715257 |
Click to Download Hitler and Yahudi
for more Nepali books visit: http://pustakalaya.org/




Comments
Post a Comment