कुमारी प्रश्नहरु पढ्दाका अनुभुतिहरु






 

सुत्न अघि अलिकति पढौं भनेको नीद हराम भयो । लेखिका पनि बोल्दा हाॅस्ने अनि हाॅस्दा गालामा खोपिल्टा पर्ने भएर त्यसै मन परेकी थिइन् । लेखनी झन् कडा ! त्यो कनिकुथी कथा बनाए भन्दा पनि कथा भएरै लेखे जस्तो । कथाको मोडहरु पनि अप्रत्याशित । यस्तो होसा भन्यो फ्याट्टै अर्को भइदिने !


मोबाइलमा कथासंग्रह पढेर सिध्याउनु निकै सकसपूर्ण रह्यो । अरु भन्दा पनि एकाग्रता भंग गर्ने थुप्रै कुरा मोबाइलमा हुने हुनाले त्यसो भयो । जे होस् आज पढेर भ्याइयो । त्यसैले किताबका हकमा केहि खेस्रा लेखिहाल्न मन लाग्यो ।

नेपाली भाषामा किशोर साहित्यका किताव उति छैनन् । हुन त यो कथासंग्रहले पनि निश्चित उमेर समूहका लागि भनेर तोकेको छैन । तर यसको कथाहरु पढ्दा किशोर साहित्य अन्तर्गत राखिनु पर्ने जस्तो लाग्यो । 

किशोर साहित्य मैले सोचेको वर्गिकरण हो । नत्र संग्रहलाई सामाजिक कथा संग्रह भनिएको छ । कथाका थप कुरा खुलाउॅदा पढ्दाको कौतुहलता नरहला भनेर लेख्न मन लागेन । एउटा विवाह पूर्व सक्रिय यौन जीवन बांचेकी किशोरीले सुहागरातमा कुमारित्वको प्रमाण स्वरुप रगत कसरी र किन पेश गर्छे भन्ने विषय बोकेको "रगत" कथा सामाजिक कथाको साथसाथै किशोर साहित्य पनि हो कि भन्ने हो । अन्य कथामा पनि किशोरपात्रहरुकै वरिपरि घटनाक्रमहरु घुमेका छन् । तर यो "समर लभ" (अन्यथा अर्थ नलागोस्) शैलीको भने हैन ।

१३ वटा कथाहरु बोकेको यो संग्रहका चाउमिन, अदुवा, रगत र पोइल शीर्षकका कथा संग्रह पढि सक्दा पनि अब्बल लागे । अन्य कथा पनि पठनीय छन् । कथाका विशेषता भनेको त्यसका घुम्तीहरु हुन् । घटना र पात्रको प्रचुरता अनि अप्रत्यासित मोडहरुले कथालाई रोचक बनाएका छन् । पात्र चित्रणमा पनि नेपाली साहित्यमा चित्रित हुने महिला पात्रको परम्परागत क्रमलाई लेखिकाले भंग गरेकी छिन् । समको मुकुन्द इन्दिरा कि इन्दिरा र पोइल कि "इन्दिरा" फरक छे । त्यस्तै फरक छे फ्यामेली फोटोकी सिर्जनाकी आमा । 


पात्रहरुकै कुरा गर्दा नेपाली साहित्यका नारी पात्रमध्ये शीरीषको फुलकी सकम्बरी खुब मन पर्थी । शीरीषको फुल पढेको मिती याद छैन । लगभग २० वर्ष अघि होला । विद्यालयमा छॅदै पढेको त्यो पुस्तककी नारी पात्रको निकोटिनले पहेंलिएका लामा औंलाको प्रसंगले खुब तानेको थियो । त्यो बेला स्कुले केटाहरु पनि उस्तो चुरोट खान्थेनन् । केटीहरुको त कुरै छोडौं । त्यसैले पनि त्यो पात्र विशेष लागेको थियो । यो पुस्तकमा विशेष लाग्ने पात्र चाहिं सौगात रहि । 


 उस्तै चुरोट च्याप्ने । एक्लै यात्रामा निस्किने । आमासॅग म्याड म्याक्स फ्युरी रोड हेर्ने (यो चलचित्रको सबै भाग हेरेको छु। नहेरेकालाई हेर्न अनुरोध । आफ्नो समय भन्दा अगाडिको चलचिक्र हो । अनि पछिल्लो संस्करण नारीप्रधान पनि छ।) बियर पिएर गोसाईंकुण्डमा रातमा पौडी खेल्ने । अन्जान ठाउॅमा अन्जान केटासॅग टेन्ट साॅट्न नडराउने । प्रयोग मन पराउने । सौगातको त अन्तिम निर्णय नै पनि मन पऱ्यो । 


कुमारी प्रश्नहरुको विशेषता यसले रहस्य बनेर रहेका महिलाको यौनिकताका बारेमा कुमारहरुलाई पनि जान्ने मौका दिन्छ । एक दमै कम चर्चा हुने विषय भएकाले पनि यस सम्बन्धी जानकारी कम र अफवाह बढि व्याप्त पाइन्छ । आख्यान भएकाले सबै कुरालाई वैज्ञानिक नै भनिहाल्न नमिल्ला तर यसले एक तहको जिज्ञासा जरुर पैदा गर्छ ।


पुरुष लेखकका कल्पनामा नारी पात्रहरु नाङ्गिन्थे पुरूषले मजा लिन्थ्यो र सकिन्थ्यो । नारीका कुरा उती आउॅथेन । यहां त्यहि "कथाले मागेका शब्द दृश्य" बाहेकका कुरा पनि आएका छन् । महिला लेखले लेखेको भएर यी कोरा कल्पना चाहिं होइनन् भन्ने ठाउॅ छ । 


कथाका गुदी नखोली यो भन्दा बढि सायद भन्ने ठाउॅछैन । एकदमै आत्म ज्ञान नै पाउॅछु र वुद्ध मै बन्छु भनेर पढ्यो भने निरास बनाउॅला । तर मनोरञ्जन सॅगै केहि फरक स्वादका कथा र तिनमा लपेटिएको कम चर्चामा आउने महिलाको यौनिकताको पक्षप्रति जिज्ञासा राखेर पढ्दा पक्कै पनि मजा आउला । सुखद पठनको कामनना 

#दुर्गाकार्की #कुमारीप्रश्नहरु

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला