नविन विभासको रोल्पा सुईना
खरो आलोचनाका कारण चिनिने सरोनरले पल्पसा क्याफे देखि सगरमाथाको गहिराई सम्म कतै पनि साहित्यको स्तर नभेटर लिएको नाम हो रोल्पा सुइना । उनले नाम नलिएको भए सायद पढ्ने हुटहुटी बढ्ने थिएन होला । पल्पसा क्याफे र सगरमाथाको गहिराई दुबै मन परेका कृति थिए । ती कृतिहरु भन्दा राम्रो भनेपछि त नपढि धरै पाएन ।
कति कृति राम्रा हुन्छन् । कृति लेख्ने उति मन खाँदैनन् । केहि कृति भन्दा लेख्ने बढि मन पर्छन् । नविन विभासको बुकाहोलिक्समा श्रष्टासँग साक्षात्कार अन्तर्गतको कार्यक्रम हेर्ने मौका पनि पाइयो । ट्वीटरमा उनका भिडियोहरु त हेरि रहेकै हो । कहिले स्थानीय बाजा त कहिले स्थानीयका दुःखहरु युट्युबमा निरन्तर हालि रहन्छन् । त्यसैले कृति पढ्दा ती मनुवाको झल्को पनि बारम्बार आइरहेको थियो ।
लाटो पहाड पढ्ने क्रममा कथा खोज्दै गर्दा बसन्त बस्नेतको लाटो पहाडमाथिको मन्तव्य सम्म पुगेको थिएँ । यदि लाटो पहाड पढ्नु भएको छैन भने त्यो भिडियो हेरेर पढ्नुस् गज्जब हुनेछ । पढि सकेको भए पनि फेरि भिडियो हेर्नुस्, तपाईंले के पढ्नु भयो र के भएन त्यहाँबाट जान्नु हुनेछ । त्यसैले रोल्पा सुइनाको मापनका आधार पनि गुरु प्रसाद मैनालीका कथा मापनको आधार जस्तै समान हुन सक्दैन ।
‘रोल्पा सुइना’ भूगोल चिनाउन लेखिएको ग्रन्थ हो । ‘रोल्पा सुइना’ एउटा ओझेलमा परेको मानव समाज चिनाउन लेखिएको कथा संग्रह हो । कथा संग्रह पनि के भनौँ । यो एउटा व्यथा संग्रह हो । हामीले नदेखेका दुःख यसमा पढ्न पाइन्छ । मलाई मात्र हो या अरुलाई पनि हो यो पढि रहँदा परिवेश मनमा रहन्छ दुःख सम्झनामा रहन्छ तर पात्रका नामहरु खासै सम्झनामा रहँदैनन् । पात्र निर्माणमा खासै बल गरेको देखिँदैन । परिवेश नै नायक छ । परिवेश नै खलनायक छ ।
रोल्पा भन्ने वित्तिकै माओवादीको जन्म थलो भन्ने एक किसिमको छवि जनयुद्धमा हुर्केका र त्यो भोगेकाका मनमा आउँछ । त्यहि ठाउँका सुइना (सपना) यो कथा संग्रहमा संग्रहित छन् । सुइना तुहिँदाका गुनासा संग्रहमा संग्रहित छन् । सुइना व्यापारीहरु माथिको प्रहार संग्रहमा संग्रहित छ । यस्तै प्रशस्त कुराहरु यो कथा संग्रहमा पढ्न सकिन्छ । कथा मात्रै सायद नभेटिएला ।
इमान्दार भएर भन्नु पर्दा यो पठन त्यति सहज थिएन । यो पढ्दै गर्दा अन्य पुस्तक पनि पढि भ्याएँ । यसका लागि अलि बढि समय लाग्यो । यो परिचित समाजको कथा नभएर होला । यसको भाषा परिचित भाषा नभएर होला । यसका पात्रहरु कोहि न कोहि जस्ता लागेर होला । खै किन हो यो पठन त्यति सहज भएन ।
सामान्यतथा औषधीका क्याप्सुलहरु तिता हुन्छन् । तर ती क्याप्सुललाई गुलियो पत्रले बेरिएको हुन्छ । मुखमा हाल्न सजिलो होस् र पेटमा जाँदा पत्र गलेर औषधीले काम गरोस् भन्ने धेय हो सायद । ‘रोल्पा सुइना’मा त्यो पत्रको अभाव भने खड्की रह्यो । पात्र निर्माण या कथा भने जस्तो गरेर व्यथा भनेको भए गज्जब हुन्थ्यो । दिपक रौनियारको ‘सेतो सूर्य’ले जस्तो सामान्य घटनालाई अघि सारेर रोल्पा लेखेको भए हुन्थ्या भन्ने लागि रह्यो । फेरि बसन्त बस्नेतको लाटो पहाड माथिको मन्तव्य याद आयो । यो हाम्रा मानकमा अटाउन पर्ने कथा होइन कि लाग्यो । अनि गुनासो छोडेँ ।
मलाई यो पुस्तकको बारेमा प्रतिकृया लेखौँ कि नलेखौँ भएको थियो । नलेखौँ लेखकलाई बाचा जस्तै गरेको थिएँ । लेखौँ भने पुस्तकसँग असहमतीहरु पनि थिए । मलाई यो पुस्तकको तुलना पल्पसा क्याफे र सगरमाथाको गहिराइसँग गर्न मन लागेन । यो फरक हो । यो बरु लाटो पहाड र दमिनी भिरसँग तुलना गर्न मिल्ने पुस्तक हो । बरु यसको तुलना ऐनासँग गर्न सकिन्छ । बरु यसलाई ऐलानीसँग दाँजेर हेर्न सकिन्छ । तर यो ती सबै भन्दा फरक पनि छ ।
पढ्दा पढ्दै रुकुम घटना भयो । त्यसपछि समाज बाँडियो । कसैले किशोरीको उमेर अघि तेस्र्याए । कसैले किशोरीले अनिक्षा गर्दागर्दै बलजफ्ती गर्न जाँदा भएको दुर्घटना भने । यस्तै किसिमको पूर्वाग्रही कुराहरु यत्र तत्र सर्वत्र बाँडियो । यस्तो भनियो कि नेपालमा छुवाछुत नै छैन । अनि याद आए रोल्पा सुइनाका यी पंक्तिहरुः
‘स्हप्पै पइल्या कुरा हुन थालिगो । माउभादी युद्धकालमा माउभादी डरले हो कि करले, याँका बाउन, बाउसाप र हुन्याखान्याले हाम्लाई हेप्न कम भया छियो । अहिले त फेरि हेप्न थाल्या छन्, हामी दलितलाई । हामी दुःखी दाल्द कन हुने केई नाइ । माउभादी फरक हुन्छ भन्या सोच्याका छियौँ । तर, यो पनि याँका बाउसाप, बाहुन, हुन्याखान्या र औल्यालकै भयो’
हो यिनै कुराले मलाई लाग्यो ‘रोल्प सुइना’ पढेर पनि यसका बारेमा लेखिएन भने गलत हुन्छ । यी पंक्तिहरु रुकुम घटनाका हकमा भविष्यवाणी सावित भयो । ‘माउभादी’ पनि ‘बाउसाप, बाहुन, हुन्याखान्या र औल्यालकै’ भए । पठन सुखद रहोस् ।
Comments
Post a Comment