किताबको कथाः राज सरगमकाे छाउघर
कहिले काहिँ त पढेको कुराको बारेमा किन लेख्नु प¥यो जस्तो लाग्छ । तर फेरि सोच्छु पढेको बेलामा भन्दा पढेको लेख्दै गर्दा किताबका धेरै कुराहरुबारेमा मन्थन गर्ने मौका मिल्छ । त्यस्तै पढेकाबारे कुरा गर्दा पढ्न मन लागेकाहरुका लागी पनि पढ्ने वा नपढ्ने भन्ने बारे निर्णय लिन सघाउ पु¥याउन सक्छ । हुन त पुस्तक मन पर्नु वा मन नपर्नु व्यक्तिगत रुची र स्वादको विषय पनि हो । र पनि एउटा आधार त बन्छ नै । मेरै हकमा पनि कतिपय अवस्थामा पुस्तक पढ्ने निर्णयमा पुग्न अरुका पुस्तक प्रतिको टिप्पणीले काम गरेको छ । पढ्छु भनि ल्याएका र नपढेका पुस्तकहरु पनि सोको चर्चा चल्दा पल्टाएको छु । त्यसैले पुस्तक चर्चा गरिरहन मन लाग्छ । फेरी लेखनमा रुचि भएकाले यो एक लेखनको अभ्यास जस्तो पनि हुन्छ ।
आमीर खानको सत्यमेव जयतेमा मर्दपन कसरी पुरुषका लागी हानिकारक हुन्छ भन्ने कार्यक्रममा कमला भासिनले भनेका कुराहरु आज पर्यन्त पनि मनमा घुसेका छन् । धेरै पटक हेरेको सो कार्यक्रमले मलाई महिलावादी साहित्य तिर आकर्षित गर्नुका साथ साथै धेरै अन्य कुराहरु प्रति पनि संवेदनशील बनाएको थियो । विवेक ओझाको ऐलानी, सरस्वती प्रतीक्षाको नथिया, भर्जिनीया वुल्फको अ रुम अफ वन्स अन (आफ्नै एउटा कोठा) लगायतका पुस्तकहरु पढिएको थियो । छाउघर त्यसै क्रममा एलिजा बैनीले सुझाएकी थिई ।
नथिया र ऐलानीका विषय बनेका बादी जातीहरु सुदूरपश्चिमसँग पनि जोडिएका छन् । छाउघर पनि सुदूरसँगै जोडिएको मुद्दा छाउपडीमा आधारित छ । आफ्नो भुगोलको कथा भएकाले पनि यी पुस्तकहरुले बढि तानेका होलान् । छाउघरले छाउपडीको कथालाई र त्यहाँको विगत देखि हालसम्मको अवस्थालाई समावेश गर्ने जमर्को गरेको छ । पुस्तकमा उल्लेख गरिए जसरी ‘छाउबार्ने’ पहाडी दुर्गम भेगमा भए पनि सो भेगबाट तराई झरेका या सहर पसेकाहरुमा पनि छाउ बार्ने चलन अझै पनि छ । पूर्वाग्रही भएरै होला पहाडमा छाउ बार्नुलाई बेलाबखत एक किसिमले जायज नै हो कि भनेर पनि सोच्ने गर्छु । जस्तो कि पहाडमा सगोलमा सुतिन्छ । व्यक्तिपच्छिे कोठा हुँदैन । कतिपय अवस्थामा बाउआमासँग जोडिएकै खाटमा सुतिन्छ भने अन्य अवस्थामा भाइबहिनीहरुसँग सुतिन्छ । छाउभएपछि भने बाबुआमासँग जोडिएको बिछ्याउना अलग्याइन्छ । त्यसरी साँघुरोमा महिनाबारी भएका बेलाको सुताइ असहज हुने भएकाले पनि अनेक कथा कहानी बुनेर छाउगोठको परम्परा सुरु भयो कि झै पनि लाग्ने गर्छ । फेरी महिनाबारी हुँदा सफा कपडा नपाएर पुराना टालाटुलीले घरका सदस्यमा आपसमा साँटेर गरिने व्यवस्थापनले पनि त्यसरी घरबाट अलग्ग राख्ने अवस्था आएको हो कि भन्ने पनि लाग्छ । फेरी सोच्छु, लगभग त्यस्तै आर्थिक अवस्था भएका र श्रोत साधनको हकमा पनि उस्तै अवस्था रहेका किराती समुदायमा या थारु समुदायमा त्यो किन देखिँदैन ? उनीहरुका लागी त्यो एउटा सामान्य विषय कसरी बन्छ ? अनि अलग कोठामा सुत्ने आफ्नै परिवारका महिला सदस्यहरुले आज सम्मै पनि किन अलग ओछ्यान बिछ्याएर परिवारका पुरुष या महिला सदस्यको त्यो अनावश्यक पाखण्ड किन जोगाइ दिनुपर्छ ? शिक्षित र संसार देखेकाहरुमा त यस्तो छ भने गरीवीमा बाँचेका र शिक्षाको अवसरबाट वञ्चित रहेकाहरुबाट कति आशा गर्न र अपेक्षा राख्न सकिन्छ ?
जर्मनहरुले बेलाबेला नेपालको चलनका बारेमा सोध्दै गर्दा मैले फ्याट्ट केहि भन्छु र पछि फेरि आफैलाई सोध्छुः थारु, नेवार, किरात, मधेसी, मुस्लिम, इसाइ, सिख लगायतका जातजातीमा पनि त्यो चलन छ त ? जस्तो मैले मदिरा सेवन प्रतिको धारणा नेपालमा नकारात्मक रहेको भनेर भनिरहँदा आफैलाई सच्याउनु परेको थियो । मदिरा सेवन प्रतिको एक ‘व्राह्मण’ परिवारको धारणासँग ठकुरी, दलित, थारु, नेवार र किरात परिवारको धारणा कतै मेल खाँदैन । ठकुरी, दलित, थारु, नेवार र किरातमा मदिराको अर्थै फरक छ । छाउपडीका हकमा पनि त्यही हो । नेवार समुदायमा गुफा भन्ने छाउपडीको फरक अभ्यास देखेको र पढेको हो । त्यसको विरोध गर्दा नेवास समुदायका साथीहरु खनिएका पनि थिए । नेवार महिलाहरुले गुफा बस्दा रमाएको किस्सा समेत सुनाएका थिए ! त्यसबाहेक सुदूरपश्चिममा थारु, राना थारु, अछामका मुस्लिम, इसाइ, लगायतका धर्म र फरक संस्कृति बाँचेकाहरुमा छाउपडीको अभ्यास रहेको जानकारी मलाई छैन । त्यसैले छाउपडी भनेकै सुदूरपश्चिम र सुदूरपश्चिम भनेकै छाउपडी भनेर अथ्र्याइनु गलत लाग्छ । त्यसो गर्नु यहाँका अन्य संस्कार र संस्कृति प्रतिको अन्याय लाग्छ । त्यसैले छाउघर सुदूरपश्चिमका ग्रामीण भेगमा बसेका खसआर्य र विशेष गरी व्राह्मण परिवारको कथा हो । सबै भन्दा बढि स्वाङ्ग पार्नुपर्ने र धर्म जोगाउन पर्ने त ‘व्राह्मण’हरुलाई नै हो ।
छाउघर ‘कला’ पात्रको प्रथम रजस्वलाको क्रममा छाउघरमा २२ दिन बिताउँदाका घटनाक्रममा आधारित उपन्यास हो । सो दिनहरुमा छाउगोठमा हुने यौन, बलात्कार, सर्प र विच्छिको टोकाइबाट मृत्यु, लगायतका विषयवस्तुलाई कथामा बुनिएको छ । आत्मपरक शैलीमा लेखिएको उपन्यासमा सुदूरपश्चिममा छाउगोठ पूर्वको महिनाबारीका क्रममा महिलाहरुलाई वन पठाएर ढुङ्ग समेत छुन नदिई हिँड्न लगाउने लगायतका अनावश्यक यातनाको प्रसंगले मान्छे कहाँ सम्म जड र मुर्ख हुनसक्छन् भन्ने नमुना पढ्न पाइन्छ । त्यो पढिरहँदा छाउगोठ धेरै सहज लाग्छ । सायद त्यस्तै सोचले होला सहरका ‘छाउगोठ’ हरु अझै पनि नभत्किएको । छाउगोठमा रहँदा परिवारबाट अलग्गिने र अप्ठ्यारो परिस्थितिमा रात काट्नुपर्ने मात्रै होइन मिठो मसिनोबाट समेत बञ्चित गरिने चलनको सन्दर्भ पनि किताबमा पढ्न पाइन्छ । गाइ बिग्रिन्छ भनेर दुध र दुधजन्य पदार्थ नदिने, बलिमा काटिएको मासु नदिने लगायतका कुराहरु पनि पात्रले भोग्नुपर्छ । अरु त अरु सुत्केरी अवस्थामा पनि त्यहि किसिमको यातना खेप्नुपर्ने र पोषणबाट वञ्चित हुनुपर्ने अवस्थाको कथा छाउघरले समेटेको छ । जबकी सुत्केरी अवस्थामा शिशुको स्वास्थ्यका खातिर आमाले बढि पोशिलो खानुपर्ने हुन्छ । अन्तिमसम्म पढ्दा आफ्नै समाजसँग घृणा लागेर आउँछ । पुरुष हुनुप्रति घृणा लागेर आउँछ । अनि कुरा ठूलाठूला गरे पनि परिवार भित्रकै छोइछिटो मेट्न नसकेकोमा कस्तो थकथक लाग्छ । पढेको के काम ? संसार देखेको के काम ? परिवर्तन त व्यक्ति आफैबाट अनि त्यसपछि परिवार र समाज हुँदै देशमा फैलनु पर्ने होइन र ?
परिवारबाट टाढा रहेको धेरै भयो । परिवारको छोइछिटो बार्ने कुरा रोक्न नसकेपनि आफूले चाहिँ त्यो कुसंस्कारलाई क्रमभंग गर्न भ्याएको छु । महिनाबारी हुँदा र नहुँदामा हाम्रो रहनसहनमा खासै अन्तर हुँदैन । त्यहि कहिलेकाहिँ पानीझोला तताउने र ढाँडमा तेल लगाउने बाहेक अरु उस्तै हुन्छ । महिनाबारीका कारण चाडपर्व पनि रोकिन्न । कामाख्याको रजस्वलाकोे रगत प्रसाद मान्ने हिन्दु परम्परामा मेरी कामाख्यालाई किन अपवित्र महसुस हुन दिन्थेँ । आँखिर पत्थरको देवी भन्दा बढि श्रृजना गर्ने ताकत त उसैमा छ । यी कुराहरु यहाँ लेखिरहन जरुरी थिएन । तर फरक अभ्यासहरु बाँड्दा अरुले पनि सिक्न पाउँछन् कि जस्तो लाग्छ । पढेर के हुन्छ भन्छन् ममा चाहिँ यस्तै सुधारहरु आएको छ । अभिव्यक्ति र व्यवहारमा एकरुपता नहुँदा आफैलाई असहज लाग्न थालेको छ । त्यस्तै त होला नि पढेर आउनु पर्ने परिवर्तन । तर मैले छोडेको समाजमा पढेकाहरुबाट पनि हुने गरेको कुसंस्कारको निरन्तरताले चाहिँ कस्तो कस्तो बनाउँछ । छाउपडी गैह्रकानुनी भइसकेको भएपनि अझै अभ्यास जारी छ । श्रृंखला खतिवडाले छाउगोठको बसाइको अनुभवका बारेमा भ्लग बनाएको धेरै त भएको छैन ! कहिले होला यी कुसंस्कारको अन्त्य ?
यो सब लेखिरहँदा मलाई के पनि लाग्छ भने हाम्रो पछ्यौटेपनको उपचार पनि हाम्रै समाजमा छ । हामीले विदेशी ज्ञान आयात गरिरहनै पर्दैन । हाम्रै देशमा भएका अन्य समुदायको अभ्यास र उनीहरुको जीवनयापनमा त्यसले पारेको असरका बारेमा अन्तक्र्रियाहरु हुनसक्यो भने पनि सोच परिवर्तनमा सहयोग पुग्न सक्छ । कल्पना गरौँ न एक सुदूरपश्चिमको खसआर्य समाजको सदस्यको एक किराँतीलाई छाउपडि बुझाउने प्रयासको दृश्य । त्यस्तै थारु समुदायका सदस्यसँगको सोही सम्वादको कल्पना गरौँ । मलाई लाग्छ यी अन्तक्र्रियाहरुको अभाव छ देशमा । छाउघर जस्ता पुस्तकहरुले त्यही अभावलाई फेरि टड्कारो बनाइदिने न हो ।
मुद्दाका हिसाबमा साह्रै महत्वपूर्ण मुद्दा उठाएकाले राज सर्गम धन्यवादका पात्र छन् । सुदूरको लवज पनि किताबमा मनग्गे पढ्न पाइनुले फरक भाषा संस्कृतिका लागी पनि किताब चाँसोको विषय बन्न सक्छ । शब्दार्थ पनि राखिनुले पढ्न सहज छ । मुद्दाको भारले च्यापिएरै होला यो पाठक प्रतिकृयामा किताब भन्दा बढि किताबले उठाएको मुद्दाको चर्चा भयो । किताबका बलियो पक्ष नै त्यसले छाउपडिको विषयलाई एकपटक फेरि प्रकाशमा पार्नु हो । बलियो पक्ष मात्रै उल्लेख गरियो भने सायद यो प्रतिकृया सन्तुलित नहोला । त्यसैले मलाई व्यक्तिगत रुपमा खट्किएका केहि कुराहरु राख्न चाहन्छु ।
छाउघर मुद्दाका हिसाबले साह्रै महत्वपूर्ण उपन्यास भएपनि लेखनमा केहि कम्जोरी महसुस भएको हो । त्यो व्यक्तिगत अनुभुति मात्रै पनि हुन सक्छ । आत्मपरक भन्दा तृतीय व्यक्तिको दृष्टिविन्दुबाट लेखिएको भए राम्रो हुन्थ्यो कि जस्तो लागेको थियो । आञ्चलिकता वा फरक भाषा घुसाउने शील्प नयनराज पाण्डेको जत्तिको कसैको लागेन । उपेन्द्र सुब्बाको लाटो पहाड, ध्रुवचन्द्र गौतमको अलिखित, नयनराज पाण्डेको सल्लीपिर पढ्दै गर्दाको अनुभवको आधारमा भन्नु पर्दा नयनराज पाण्डेले न उपेन्द्र सुब्बाको जस्तो पाठकले बुझि हाल्छन् भनेर फरक भाषाका ठेट शब्द उस्तै छोडेका छन् न त ध्रुवचन्द्र गौतमले जस्तो एक फरक पात्र नै सृजना गरेर उल्थ्याउने जिम्मा सो पात्रलाई लगाएका छन् । एकदमै मिल्ने पाराले उनले फरक भाषा समावेश गरेका छन् । त्यो पनि फरक समुदायको भाषालाई उनले एकदमै बुझिने पाराले समावेश गरेका छन् । मलाई लाग्छ त्यो लेख्ने सबैका लागी अनुकरणीय हुन सक्छ । हुन त यसमा लेखकले गर्न सक्ने केहि थिएन र पनि यस्तो महिलाहरुको विषयवस्तुमा महिलाको पनि कलम चल्नुपर्दथ्यो कि जस्तो पनि अन्त सम्मै लागी रह्यो । उनीहरुले आफ्ना विषय कसरी उठाउँदा हुन् भन्ने पनि लागीरह्यो ।
समग्रमा पुस्तक पठनीय छ । विषयवस्तुका हिसाबले यो पुस्तकका बारेमा नलेखिरहन सकेन । लेख्दै गर्दा केहि विषय भन्दा बाहिरका कुरा पनि आए होलान् । यसपाली यस्तै भयो । अस्तु !
**************************************************
किताब छाप्ने धेरै अघि देखिको रहर हो । उपन्यासकै लागी समय नजुटेकाले कथाहरु लेखेर २ वर्ष अघि प्रयास गरेको थिए ।सुझाबका लागी पढ्न दिएकाहरुले राम्रै प्रतिकृया दिएपनि प्रकाशकहरुबाट सकारात्मक प्रतिकृया नआउँदा निराश पनि थिएँ । तर लेख्ने मान्छेलाई निराशा निराशा मात्र हुँदै लेख्ने विषय पनि हुन्छ ।कुनै दिन यिनमा पनि कथा बन्लान् ।
जे होस् विकल्प खोज्दै जाँदा अमेजनमा अनलाइन प्रकाशन गर्न मिल्ने कुरा पत्ता लगाएँ । कथा संग्रह प्रकाशकहरुले अस्वीकृत गरेकाले सम्पादन नगरी छाप्न मन लागेन । ८० भन्दा बढि गजल थिए । पहिले ७६ बाट अहिले ५६ मा झारेर प्रकाशित गरेको छु । केहि मन पर्लान् केही झुर लाग्लान् । ताली गाली सबै स्वीकार छन् ।
ह्यामबर्गरको मुल्य ०,९९ सेन्ट मा उपलब्द्ध छ । नेपाली पुस्तक अनलाइन प्रकाशनको प्रचार पनि होस् र प्रकाशककै मुख ताक्ने अवस्थाको पनि अन्त होस् भनेर यो प्रयास गरेकाे छु। सकारात्मक प्रतिक्रिया र साथकाे अाशा छ । 🙏🏼
किताब डाउनलाेड गर्न यहाँ थिच्नुहाेस्


Comments
Post a Comment