वेग, शाह, र अन्सारीः किन रोकिन्न अपराधका सृंखलाहरु ?




भारतीय आपराधिक सञ्जालका नायिके दाउद इब्राहिमका नजिकका सहयोगी र कतिपय समाचारमा उनका दायाँ हात सम्म भनिएका युनुस अन्सारी यस पटक फेरि पनि समातिएका छन् । हाल सम्मकै ठूलो परिमाण, ७ करोड ६७ लाख ९४ हजार,  बराबरको नक्कली नोट सहित समातिएका अन्सारी कतारबाट उडेको कतार एयरवेजको विमानबाट आएका ३ जना पाकिस्तानी नागरिकलाई लिन गएको अवस्थामा समातिएका हुन् । भारतको चुनाव सकिए लगत्तै फेला पारिएको २ हजार दरको नक्कली नोटको यत्रो ठूलो परिमाणले ठूलो हलचल नै मच्चाएको छ र त्यसमाथि पहिले देखि नै परिचित व्यक्ति मार्फत भित्रिनुले नेपालको सुरक्षा स्थितिप्रति पनि सर्वसाधारणको शंका बढाएको छ । 

वि.सं. २०६५ साल पुस १८ मा त्रिपुरेश्वरको होटेल ब्लुवर्डबाट २४ लाख ४४ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारीले जेलमै रहँदा पनि नक्कली नोटको कारोवार जारी राखेका थिए । अन्सारीले जेलबाटै बनाएको योजना अनुसार २०६७ असोजमा नेपाल भित्र्याइएको ४० लाख ९० हजार बराबरका जाली नोटहरु विमानस्थलमै पक्राउ परेको थियो । ०६५ देखि ४ वर्षको सजाय काटि रहेका अन्सारी ०७० को असोजमा छुटेको ३ महिना पछि माघमा फेरी पनि भारतीय नक्कली नोट र लागु औषध कारोवारको आरोपमा पक्राउ परेका थिए ।



अन्सारी जेलमै रहेको अवस्थामा ०६७ फाल्गुन २६ गते उनीमाथि सांघातिक हमला समेत भएको थियो । केन्द्रिय कारागार जस्तो ठाउँमा हतियार सहित व्यत्तिः प्रवेश गरेर त्यसरी हमला गर्नुले त्यसबेला ठूलै हलचल मच्चाएको थियो । कुख्यात अपराधी चाल्र्स शोभराज समेत रहेको उक्त जेलमा शोभराजलाई नै भेट्न आउने गरेका जगजित भनिने मनमित सिंहले गोली हानेका थिए । रमाइलो कुरा त के छ भने शोभराजले भारतीय जेलमा हुँदा भारतका अपहरणका राजा भनेर चिनिने बब्लु श्रीवास्तवसँग राम्रो चिनाजानी बनाएका थिए । नेपाल छँदा पनि उनी बब्लुसँग सम्बादमै रहने गरेका थिए । अनि तिनै बब्लुको ‘साथी’ शोभराजलाई भेट्न आउनेले दाउदका मान्छे मानिएका अन्सारी माथि हमला गर्नुले अन्सारीको दाउदसँगको सम्बन्धको चर्चालाई झन बल पु¥याएको थियो । 

बब्लु श्रीवास्तव अन्सारीको हमला पछाडि हुुनमा बब्लु श्रीवास्तव र दाउदको सम्बन्धको पाटो जिम्मेवार मान्न सकिन्छ । दाउदसँगै काम गर्ने छोटा राजन र बब्लु श्रीवास्तव लगायतका भारतीय आपराधिक सञ्जालका प्रमुख अपराधीहरु भारतको बम्बइमा सन् १९९३, १२ मार्चमा  भएको बम हमला पछि छुट्टिएका थिए । २५७ जनाको ज्यान जानेगरी र ७ सय भन्दा बढि घाइते हुनेगरी भएको सो बम हमला बाबरी मस्जिद भत्केपछिको दंगमा मारिएका मुस्लिमहरुको बदला लिन गरिएको भनेर भन्ने गरिन्छ । भाजपा र विश्वहिन्दु परिषदले संयुक्त आयोजना गरेको राम रथ यात्रामा सहभागी करीब डेढ लाख हिन्दु कार सेवकहरुले ६ डिसेम्बर १९९२ मा अयोध्यामा बाबरी मस्जिद त भात्काए नै त्यसको साथसाथ देशका विभिन्न ठाउँमा हिन्दु–मुस्लिम दंगाहरु पनि भए । कम्तिमा २ हजार जति मारिएका त्यस्ता दंगाहरुमा मुस्लिमहरु बढि थिए । भारतीय शीव सेनाले प्रमुख भूमिका खेलेको बम्बइ दंगामा मात्रै करीव ९०० जनाको ज्यान जानुका साथै ९ हजार करोड बराबरको धनमाल नासिएको थियो । यिनै हिन्दु–मुस्लिम दंगाले भारतीय अण्डरवल्र्डमा समेत हिन्दू–मुस्लिम अलग गराएको मानिन्छ । बब्लु श्रीवास्तव पनि त्यसरी अलग्गिने र दाउदको मित्रबाट शत्रुमा फेरिने एक पात्र थिए । बम्बइ दंगा पछि नै छुट्टिएका भनिएका छोटा राजनले त भारतीय गुप्तचरसंस्था ‘र’लाई दाउद सम्बन्धी विभिन्न सूचना दिएको कुरा हुसैन जैदीको पुस्तक डोंग्री टु दुबईमा पढ्न पाइन्छ । 


अन्सारी जेल गएपछि वि.सं.२०६६, माघ २४ गतेका दिन  ‘सञ्चारकर्मी’ जमिम शाहलाई गोली हानी हत्या गरिएको थियो । नेपालमा ‘सञ्चारकर्मी’को परिचय बनाएका अन्सरी र शाह दुबै  कथित रुपमा पाकिस्तान बाट नेपाल, बंगलादेश र मध्यपूर्वमा चल्ने भारतीय नक्कली नोटका कारोवारका नायिके थिए भनेर टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको थियो । हवाला, नक्कली नोटको कारोवार लगायतका सबै आपराधिक गतिविधी भारतीय आपराधिक सञ्जालका प्रमुख दाउदको मातहतमा चल्ने गरेको मानिन्छ । टाइम्स अफ इन्डियाले शाहको हत्यामा बब्लु श्रीवास्तवसँगै भारतीय गुप्तचर संस्था र समेत अन्सारी माथिको हमलामा संलग्न रहेको हुनसक्ने भनेर उल्लेख गरेको थियो । यी सब अड्कल बाजीका बीच अन्सारी माथिको आक्रमण कसले गरायो होला भनेर अनुमान लाउनु उति गाह्रो छैन ।

अन्सारी अपरिचित व्यक्ति होइनन् । उनको पिता सलिम मियाँ अन्सारी ०५१ को आम निर्वाचनमा तात्कालिन एमालेका तर्फबाट वाराको ४ नम्बर क्षेत्रबाट विजयी भएका र वन तथा भू–संरक्षण मन्त्रीका रुपमा काम गरेका व्यक्ति हुन् । त्यसपछि पनि उनी पर्यटन मन्त्री भएका थिए । एमाले त्यागेर समाजवादी पार्टी नेपाल गठन गरेका उनलाई ज्ञानेन्द्रको शासनकाल २०६२ अषाढमा फेरी वन तथा भू संरक्षण मन्त्रीको जिम्मेवारी दिइएको थियो । अन्सारीलाई २०६३ माघमा मधेसमा हिंसा भड्काएको आरोपमा कमल थापा, बद्रिप्रसाद मण्डलका साथमा सलिम मीया अन्सारीलाई गिरफतार गरिएको थियो । यिनै मन्त्रीसम्म भइसकेका अन्सारीका छोरा पटकपटक भारतीय नक्कली नोट र लागुका पदार्थका साथ समातिनुले सत्ता र अपराधको बीचको झोल बुझ्न गाह्रो बनाएको छ । 

हुन त यस अघि पनि मिर्जा दिलसाद वेग जस्ता पटक पटक मन्त्री भइसकेका व्यक्तिहरु पनि भारतीय आपारधिक सञ्जाल नायिके दाउदसँग नजोडिएका होइनन् । वि.सं. २०५५ अषाढ १५ मा काठमाडौँमा गोली हानी हत्या गरिएका वेग भारतको उत्तर प्रदेशको देओरियामा जन्मिएको र पछि नेपाल प्रवेश गरेको बताइन्छ । वेगले नेपालमा दाउदलाई सघाउने गरेको आरोप भारतीय गुप्तचर संस्थाहरुले लगाएका थिए । दाउदको मान्छे भएकाले उनको हत्या गरेको भनेर दाउदकै समुहबाट बम्बइ हमलापछि छुट्टिएका छोटा राजनले पटकपटक कबुलेका पनि छन् । छोटा राजन पक्षबाटै वेगको हत्याको जानकारी भारतीय गुप्तचर संस्थाहरुलाई पनि थियो भन्ने सम्मको कुरा बाहिर आएको भनी इन्डिया टुडेले प्रकाशित गरेको थियो । 

यसरी विगत देखि वर्तमान सम्मका घटनाहरु हेर्दा नेपाली भूमिमा आपराधिक घटनाहरुको शिलशिला धेरै अघि देखि सुरु भएको र त्यो क्रम हाल सम्मै जारी रहेको बुझिन्छ । अचम्मको कुरा त के भने भारतमा कुख्यात अपराधीका रुपमा दर्ज व्यक्तिहरु नेपालमा कानुन निर्माता र कार्यकारी जस्तो पदमा हुँदा पनि हामीलाई त्यसको अत्तोपत्तो हुँदैन । अनि यस्ता व्यक्तिहरु यदा कदा समातिइ हाले पनि तिनीहरुमाथिको कारवाही चित्तबुझ्दो हुँदैन । जस्तो वर्ष दिन अघि सुन तस्करको आरोपमा समातिएका ‘गोरे’ माथिको कारवाही अहिले सम्म निचोडमा पुग्न सकेको छैन । त्यतिबेला दोषी भनेर समातिएका धेरै जस्ता अधिकारीहरु उम्काइएका छन् । अन्सारीकै हकमा पनि उनी पटकपटक जेल जाने र बाहिरिने हुनु आफैमा आश्चर्य जनक छ । भारतीय संचार माध्यमले अन्सारी भारतमा सर्वाधिक खोजिएको अपराधी रहेको भनेर बताइ रहँदा र अन्सारीले गर्ने गरेको भारतीय नक्कली मुद्राको कारोबारका आधारमा पनि उसलाई भारतलाई जिम्मा लाइनु पर्दथ्यो । अथवा कुनै कडा सजाय तोकेर यस्ता घटना दोहोरिन नदिने अवस्थाको सृजना हुनु पर्दथ्यो । तर त्यसको साटो प्रधानमन्त्रीका प्राविधिक विज्ञ असगर अली उनलाई छुटाउन गएको समाचारहरु पढ्न पाइन्छ । आँखिर यस्तो किन हुन्छ ? 

हुन त सरकारका पक्षवाट विज्ञप्ती नै सार्वजनिक गरेर असगर अली छुटाउन गएको कुराको खण्डन गरिएको छ तर पनि विगतका जमिम शाह, मिर्जा दिलसाद वेग लगायतका व्यक्तिको पहुँच र उनीहरु माथि लागेको आरोपहरुलाई हेर्दा सरकारको खण्डन उती विश्वासिलो लाग्दैन । जमिम शाह हत्या प्रकरणमा पनि अपारधीलाई सघाएको भनेर प्रहरीका डिएसपी जगदीश चन्द, सई प्रकाश क्षेत्री, किशोर खड्का सहित ३ जनालाई पक्राउ गरिएको थियो । सुरक्षा प्रदान गर्नुपर्ने उच्च तहका कर्मचारी नै हत्यामा संलग्न पृष्ठभूमी हेर्दा संचार माध्यमका समाचार पूर्ण रुपमा गलत नै हुन् भनेर भन्ने ठाउँ छैन । त्यसो भए किन यसरी अपराधी संरक्षित गरिन्छन् त ?

भारतीय सञ्चार माध्यम द क्वीन्टलाई दिएको एक युट्युव अन्तर्वातामा भारतीय आपराधिक सञ्जालका नायिके दाउद लगायत धेरै पात्रहरुका कथा लेखेर प्रकाशित गरि सकेको खोज पत्रकार तथा लेखक हुसैन जैदीलाई ‘यत्रो जानकारी हुँदा हुँदै पनि दाउदलाई किन भारत ल्याइन्न ?’ भनेर राखिएको प्रश्नमा उनले भनेका थिए, ‘सायद हाम्रो नेतृत्वमा त्यो चाहना नै छैन । फेरि दाउदलाई भारतमा ल्याउँदा उससँग संलग्न रहेकाहरुको पोल खुल्न सक्ने भएर पनि होला ।’ नेपालको हकमा पनि सायद यहि नै साँचो हो कि ? नत्र पटक पटक अपराधी समातिने तर ठोस कारवाही भएको नदेखिने किन होला ? 


श्राेतहरूः


मीर्जा दिलसाद वेग

जमीम शाह प्रकरणः


अन्सारी प्रकरण
https://www.onlinekhabar.com/2019/05/768087



Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी