विपीको स्वेतभैरवीः मधेस र इतिहास बोकेको साहित्यिक कृति
विपीका उपन्यासहरु विद्यालयमा पढ्दै गर्दा र कति क्याम्पस स्तरमा पुगेपछि पढेर भ्याएको थिएँ । कथाहरुमा एक रात र दोषी चश्मा पाठ्यक्रममै समावेश भएकाले पढिएको थियो । त्यसका अलावा धेरथोर अन्य पनि पढिएका थिए तर श्वेतभैरवी कथा संग्रह कसो कसो छुटेको थियो । श्वेतभैरवी पढेसँगै विपीका रचनामा अर्को कथासंग्रह दोषी चश्मा बाहेक सबै पढेर भ्याइयो । हिटलर र यहुदी त दोश्रो पटक सम्म पढेँ । के चाहिँ हुँदो रहेछ भने पहिलो पटक पढ्दा नबुझिएका धेरै कुरा दोश्रो पठनमा बुझिँदो रहेछ । त्यसमा आफूले त्यसबीच पाएको ज्ञानले पनि भूमिका निभाउँछ होला । नत्र श्वेतभैरवीकै एक रातको यस पटकको अध्ययनले जुन तहसम्म मलाई उत्तेजित बनायो र रामप्रसाद राईको वृत्तचित्र सम्म पु¥यायो त्यो पहिलो पठनमा भएको थिएन । त्यस हिसाबले विपीका सबै कृतिहरु एक पटक फेरी पढ्ने हुटहुटी भने बढेर आएको छ ।
एक रातको कथावस्तुको बारेमा लेख्नु पूर्व त्यसको पृष्ठभूमीका बारेमा पनि केहि लेख्न जरुरी ठान्दछु । सायद यो पृष्ठभूमीले एक रात कथालाई अझ महत्वपूर्ण बनाइ दिन्छ । राजा, राणा र कांग्रेसको दिल्ली सम्झौताबाट त्यतिबेलाका कांग्रेसका जनमुक्ति मोर्चाका रामप्रसाद राई लगायतका अन्य धेरै खुशी थिएनन् । रामप्रसाद राईले त त्यसलाई धोका हो भनेर केआइ सिंहसँग मिलेर सिंहदरबार कब्जा सम्म पनि गरे । तर पछि उनी बेपत्ता भए । कसैले बाग्मतीमा ल्याएर गोली ठोकेर मारियो भन्छन् कसैले शरणका लागी तिब्बत भाग्दै गर्दा बाटैमा मारिए भन्छन् । त्यतिबेला उनलाई विद्रोही बनाएर मारिए पनि पछि भयो त्यहिः धोका ।
०१५ सालमा दुई तिहाई मतका साथ सत्तामा आएको कांग्रेस र त्यससँगै प्रधानमन्त्री भएका विपीलाई खोरमा थुनेर राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरे । त्यसै क्रममा थुप्रै विद्रोहका प्रयासहरु भए । क्याप्टेन यज्ञ बहादुर थापा र भीमनारायण श्रेष्ठको टिम्बुरबोटे काण्डका नामले परिचित ओखलढुङ्गा विद्रोह र त्यसभन्दा अघि राजा महेन्द्रको गाडीमाथि २०१८ साल माघ ९ गते जानकी मन्दिरको परिसरमा दूर्गानन्द झाद्वारा गरिएको बम आक्रमण त्यतिबेलाका कांग्रेसीहरुले गरेको विद्रोहको प्रयास थियो ।
कोही भन्थे–अहिंसालाई सफल प्रयोगमा ल्याउन पनि प्रारम्भिक हिंसा चाहिन्छ – बाटोलाई छेकेको तगारो हटाएको जस्तो । त कोही भन्थे – अहिंसाले राजनीतिक परिवर्तन गर्ने भए र त्यसरी दिगो प्रजातन्त्र कायम गर्ने मनसुवा भए अनन्तसम्म पर्खन पनि तयार हुनुपर्छ तर यत्रो दु्रतगतिमा बढिरहेको दुनियामा के हामी नेपालीले अनन्तसम्म पर्खिरहने ...!
राजनीतिमा हिंसाको पूर्णतः त्याग असम्भव छ, त्यसो हुनाले प्रयत्न यसमा मात्रै गर्नुपर्छ कि हिंसा सीमित रहोस् र अनिवार्य भएमा मात्र निवार्य परिमाण् प्रयोग होस् । – एक रात
भारत प्रवासमा रहेका दूर्गानन्द झा बम आक्रमणमा संलग्नको खोजीका क्रममा निर्दोषहरुमाथि सरकारी पक्षले थालेको धरपकड र चरम यातनाको श्रृंखला रोक्न भनेर नेपाल आए । राजा महेन्द्रले माफी माग्न भने ता पनि उनले खासमा राजाले जनतासँग प्रजातन्त्र खोसेकोमा माफि माग्नुपर्ने तर्क गरे भन्ने भनाइहरु पनि रहेको छ । तिनै दूर्गानन्द झालाई वि.सं. २०२० साल माघ १५ गते गोलीहानेर मृत्युदण्ड दिइयो । त्यसको एक हप्ता पछि माघ २३ र २४ गते विपिले एक रात कथा लेखे । त्यस अर्थमा एक रातलाई दूर्गानन्द झाको कथा पनि भनिन्छ । झाको दूरुस्त जीवनी नभए पनि त्यसमा प्रजातन्त्रका लागी लड्ने र राज्यबाट मारिनेहरुको सरदर कथा छ । झाको जीवनी थाहा पाएर पढ्दै गर्दा कथा अझ बढि सार्थक र जिवन्त लाग्छ । साथै परिवर्तनको लागी क्रान्तिकारिताको आवश्यकताका कुराहरु एक रातमा सरल भाषामा पढ्न पाइन्छ ।
कथासंग्रहमा एक रात बाहेकका तीन कथाहरु समावेश छन् । सान्नानी, टाइपराईटर बाजे र श्वेतभैरवी कथाहरुमा यौन मनोविज्ञानमा आधारित घटनाक्रमहरु समावेश छन् । सान्नानी र श्वेतभैरवीमा वाल्यकालका घटनाहरुको चित्रण छ । ती कथा पढ्दै गर्दा रामलाल जोशीको ऐना कथासंग्रहमा समावेश खेल कथा र बुद्धिसागरको फिरफिरे र कर्णाली ब्लुजको सम्झना दिलाउँछ । वाल्यकालको घटना र परिवेशको चित्रण भएपनि लेखनको भाषामा संस्कृत शब्दको बढि प्रयोग र अप्ठ्यारा अनि अप्रत्यक्ष शब्दहरुका कारण पठन त्यति सहज भने हुँदैन । सायद त्यसैले पनि अहिलेका लेखनहरु बढि लोकप्रिय भएका छन् ।
भाषाका सन्दर्भमा जहिलेपनि मलाई जगदीश घिमिरेको ‘नसुनिने बोल्नु र नबुझिने लेख्नु उस्तै हो’ भन्ने उक्ति सम्झना आउँछ । विपिको पालामा नेपाली भाषाको उति विकास भइ नसकेकाले पनि संस्कृति शब्दको बढि प्रयोगको विकल्प थिएन । अब भने त्यो बाध्यता छैन । त्यसैले पनि अहिलेका लेखकलाई धेरै हदसम्म सहज भएको छ । पाठकहरुमा पठनशीलता पनि बढ्दै गएको छ ।
एउटा अर्को अलि अप्ठ्यारो लागेको कुरा भनेको एक रातमा विपिले मधेसी पना राखेनछन् । आफू पनि त्यही भूगोलबाट आएकोले हो या सांस्कृतिक पहिचानका कुरा त्यसबेला त्यति जोडदारका साथ नउठेकोले हो, एक रातका किशोर पुरापुर पहाडी लाग्छन् । उनी मधेसी भएको कहिँ कतै संकेत पाइँदैन । हुन त एक रात दुर्गानन्द झाकै बारेमा लेखिएको हो भनेर दाबी नै गर्न सकिन्न तर दुर्गानन्द झा मारिनु र कथा लेखिनुको समयको अन्तर हप्ता दिनको मात्रै हुनुले कथाका किशोर झा नै हुन् भनेर शंका गर्ने ठाउँ प्रशस्त छ । विपीले एक रात कथामा मधेसी पहिचान पनि हालेको भए सायद कथा समावेशी हुन्थ्यो ।
अर्को कुरा के पनि सोच्न बाध्य भइयो भने मधेसी ब्राह्मणलाई त्यसबेलाको सत्ताले ब्राह्मण देख्थेन या त्यो चेत थिएन । नत्र टंक प्रसाद आचार्यलाई व्राह्मण भएकैले चारपाटे मुडेर जिउँदै छाडिएको जस्तै सजाय झाका लागी पनि हुनुपथ्र्यो । व्राह्मणलाई मार्दा व्रह्महत्या हुन्छ भनेरै राणाहरुले टंकप्रसादलाई जिउँदै छोडेका थिए । तर झा त्यही तर्कका आधारमा जोगिएनन् । झाहरु फेरि महेन्द्रका बुढा मावली पर्छन् । रणबहादुरले पशुपती दर्शनार्थ आएकी मिथिलाकी विधवा व्राह्मणी कान्तीवती झासँग विवाह गरेर जन्माएका गिर्वाणयुद्धकै सन्तान महेन्द्र हुन् । झालाई मृत्युदण्ड दिनेबेला सायद उनले यो कुराको समेत हेक्का राखेनन् ।
अस्निग्धता, रुक्षता र शुष्कताकी प्रतिमूर्ति, बर्बर धूलि–धूसरित त्यस शरीरले वास्तवमा रमणी कुलमा नै जन्म दिएको थियो । रुखा, साना–साना ऊध्र्व–केश चौंरी गाईको चमरजस्तो कडा र खस्रो थियो जसको टुप्पो सुकेको परालको जस्तो धुमिल पीतवर्णको थियो । सर्वाङ्ग नग्न, केवल कम्मरमा गाँठो पारेर अड्काएको एउटा कौपीन वस्त्रले येनकेन लज्जाको रक्षा गरिरहेको थियो । शरीरमा धमिलो पानी, हावा र घामको माध्यमले सुकेको हुनाले शरीरभरि धूलो र पानीको रेखाचिन्ह स्पष्ट देखिन्थे । आँखा साना–साना, नाकको पोरा सेख बाक्लो, तर डाँडी केही थिचिएको, साँगुरो ललाट, हातगोडा रुखा भए तापनि नराम्रा होइनन् । शरीरको वर्ण छुट्टयाउन गाह्रो, गहुँ र कालो वर्णको सम्मिश्रणबाट बनेको अनिश्चित वर्ण जसलाई देहातको सूर्य र माटोले झन् अस्पष्ट धूमिल पारेको ।
सान्नानी र स्वेतभैरवीका पात्रहरुमा पनि उनीहरुको चालचलन हेर्दा मधेसी पना प्रशस्त देखिन्छ । तर ती पात्रहरुको नाममा मधेसी पना छैन । तिनको चित्रण नै पनि अनौठो किसिमले गरिएको छ । मधेसबाट राजनीति गरेको विपीले मधेसलाई सम्मानजनक रुपमा साहित्यमा समावेश गर्न सकेको देखिँदैन । मधेसी सौन्दर्य चित्रणपनि त्यति प्रसंशा योग्य छैन । हो गौना लगायतका केहि मधेसी पुराना संस्कारको सानो सन्दर्भहरु भने पढ्न पाइन्छ । सकारात्मक प्रकाशमा मधेसी समाज र पात्रको चित्रण भने भेटिँदैन ।
धेरै अघि लेखेर राखेको यो पाठक प्रतिकृया पुरा गर्दै गर्दा मधेसको इतिहासका थप कुराहरु पनि पढ्न पाइयो । विदेशीहरुले लेखेको साहित्यका मार्फतबाट नेपाली इतिहासका नपढिएका पाटाहरु पनि खोतल्न पुगेँ । विपी स्मृति दिवसका दिनमा विपीको साहित्य मार्फत विपीको साहित्यमा सांस्कृतिक समावेशीता र पञ्चायत कालीन राजनीतिको चर्चा पाठकहरुकालागी पनि रुचिको विषय हुन सक्छ । यसमा थप चर्चा भयो र प्रतिकृयाहरु आए भने झन जान्ने सिक्ने अवसर मिल्थ्यो ।
थप श्राेतहरू
https://en.wikipedia.org/wiki/Durgananda_Jha
https://en.wikipedia.org/wiki/Yagya_Bahadur_Thapa
https://www.quora.com/What-is-the-history-of-Madhesh
Comments
Post a Comment