प्रबासबाट फर्कँदा

लामो समयपछि नेपाल फर्कँदा एक किसिमको अपेक्षाहरु हुँदो रहेछ । मनले एउटा छुट्टै कल्पनाको संसार बनाएको हुँदो रहेछ । वास्तविकता त्यो कल्पनासँग मेल नखाँदा एक किसिमको निराशाले ठाउँ पाउँदो रहेछ । एक मनले त भन्छ भएभरका निराशाहरु पोखाँै । तर फाइदा के ? निराशा लेखेर म पनि निराश हुन्छु, पढ्ने पनि निराश हुन्छन् । फेरी देशको परिवर्तनकामी पार्टीका अध्यक्ष कमरेडले ‘निराशा बाँडेर क्रान्ति हुँदैन ।’ भनेर भनेको सुनेदेखि उनको भनाइ प्रति एक किसिमको सम्मान प्रकट गर्न मन लाग्छ । हुन पनि निराशा बाँडेर परिवर्तन हुने त केहि होइन । पलायनवादी सोचले मात्रै बढावा पाउने हो । त्यसैले विदेशमा केहि समय विताएर नेपालमा त्यहि सेवासुविधाको अपेक्षा राख्दा नपाएको झोकमा देशलाई सराप्ने भुल गर्नुको साटो म नहुँदा समाजमा भएका सकारात्मक परिवर्तनका बारेमा भने केहि लेख्न चाहन्छु ।
अढाइ वर्ष लामो विदेश बसाइका क्रममा विकसित भन्दा विकसित मुलुकहरु देख्न पाएँ । फ्रान्स, स्वीट्जरल्याण्ड, स्पेन, जर्मनी, र अमेरिकाका विभिन्न सहरहरुमा भ्रमण गर्दा प्रथम विश्व भनेर चिनिने समाजले मारेको फड्कोको साक्षात्कार गर्न पाइयो । सँगैको छिमेकी चीनको प्रगती हेर्दा पनि आरिस गर्न बाहेक केहि गर्न सकिएन । यी सबै देशहरुले हाम्रो समाजमा भएको जस्तै समस्याहरु भोगेर नै अहिलेको अवस्था सम्म पुगेका हुन् । त्यसैले पनि मलाई हामी सबै एकजुट भए सायद हाम्रो देशको मुहार फेर्न पनि बढि समय लाग्ने छैन भन्ने भान हुन्छ । हामी उनीहरुको दाँजोमा एक न एक दिन अवश्यै पुग्छाँै नै तर सवाल कहिले सम्म भन्ने मात्रै हो ।
सार्क सम्मेलन ताका भएको सरसफाइ र सजावटले दुलहीझैँ सजिएको काठमाडौँ सहरमा पुग्दा विगतका तुलनामा निकै फराकिला सडकहरुले स्वागत गरे । आँखाहरु परिवर्तन भएका हरेक कुराहरुको टिपोट राख्न आँतुर थिए । यातायातका सुविधाहरुमा साझाबसले थपेको सहजताको पनि राक्षी बन्न पाइयो । एकचोटी बन्द भइसकेको संस्था पनि फेरि व्युँतिएर सफल व्यवसाय गर्न सक्षम भएको देख्दा गरे के हुँदैन र भन्ने मनमा लागी रह्यो । आरामदायी सिट र सहचालकको सम्मान जनक व्यवहारले यात्रा झन् सहज बनायो । बेलाबेला बस भित्रको टेलिभिजनमा पैसा तिरेको टिकट लिन नभुल्नु भनि सन्देश बजि रहेको थियो । सहचालकले पनि लागेको रेट लिएर खुरुक्क टिकट दिन्थे । यस्तो पो हो त यात्रा । सायद बढ्दो सवारी चापलाई मध्यनजर गरेर उपत्यकाका निश्चित रुटहरुमा ठूला गाडी मात्रै चल्न दिने बनायो भने यात्रुलाई सुविधा त मिल्छ नै साथसाथै सडकमा सवारी साधनको चाप समेत कम हुने देखिन्छ । तीन–चार टेम्पुको सवारी एकै बसले लग्ने भएपछि सडकबाट त्यत्रो सवारी साधन त्यसै कम हुन्छ ।
पहिलेका तुलनामा महिला सवारी चालक पनि केहि थपिएका हुन् कि जस्तो लाग्यो । ठूला गाडी चलाउने एक महिला सवारीचालकको अन्तर्वार्ता पढेदेखि त्यस्ता कर्मठ महिलाहरुसँग साक्षात्कार गर्न सँधै लालायित हुने गर्छु । एकदिन जावलाखेलबाट रत्नपार्क पुग्दा त्यो धोको पनि मेटियो । बोल्नलाई खासै कुरा केहि त थिएन तरपनि एककिसिमको सुखानुभुती भने यात्राभरमै भइरह्यो । चुलाचौकाबाट बाहिर यसरी सवारी हाँकेर हिडेको देख्दा हाम्रा आमा–दिदिबहिनीका दिन पनि निकै फेरिएछन् भन्ने मनमा लागी रह्यो ।
‘आजकल रानीपोखरीमा पनि फोहरा हालेको छ ।’ दिदिले सुनाउँदै थिइ । अँ एक साँझ रानीपोखरी छेउ हिँड्रदै जाँदा देखेको पनि थिएँ । निकै बेर बस्न भने भ्याएन । नभए अँध्यारामा रंगीन पानीका फोहराहरु कति रमाइला देखिँदा हुन् । सडकका छेउछाउमा लागेका सडकबत्तीहरुका बारेमा पनि सुन्न पाएँ र देखेँ पनि । डेढबर्षको लाजिम्पाट बसाइका क्रममा हिँडेका सडक फराकिला भएछन् । सायद त्यसैले होला पुराना चिरपरिचित बाटाहरुमा हिँड्दा पनि कुनै नौलो ठाउँमा आए झै लाग्थ्यो ।
अमृत साइन्स कलेज तर्फको सडक र प्रचण्ड निास अघिका सडकमा हिँड्दा सडक विस्तार र मर्मत अझै चल्दै गरेको भान हुन्थ्यो । सायद देशले संविधान निर्माणको मुल कामबाट फुर्सत नपाएकाले होला विकासका कामहरु सामान्य गति भन्दा अलि ढिला भएको हो कि झैँ लाग्थ्यो । आफुले डेरा गरेर बसेको घरको पर्खाल पनि भित्र सारिएको रहेछ । विद्यालयको पर्खा पनि भित्र पसेछ । बीचको बाटो भने पहिले भन्दा निकै फराकिलो भएछ । म यी सडकहरु पूर्ण रुपमा मर्मत भइसकेपछि यात्रुहरुलाई कति सुविधाहुने होला भन्ने सोच्दै हर्षले गदगद भएँ ।
राजधनीको अर्को परिवर्तनले मेरो चित्त साह्रै बुझायो । त्यो के भने अहिले सार्वजनिक यातायातका साधनमा महिलाको सिटमा पुरुषहरु बस्दैनन् । बसेभने पनि सहचालकले महिला आउने बित्तिकै ‘ल दाइ,  महिला सिट महिलाको लागि खाली गरिदिउँ त !’ भन्दै उठाइ हाल्छ । महिला हक अधिकारका बारेमा लेख्दै गर्दा देशमा यस्तो परिवर्तन आएको देख्दा मन एकदमै खुशी भयो । सायद सामाजिक सञ्जाल र इन्टर्नेटमा भएको विकास अनि त्यस्ता माध्यममार्फत पुग्ने सन्देशहरुको प्रभावले होला हाम्रो समाज अहिले महिला हक–अधिकार प्रति पहिले भन्दा निकै सचेत छ । यो राम्रो कुरा हो । यस्तै परिवर्तन अन्य पक्षका सन्दर्भमा पनि हुनु जरुरी छ ।
होलिका बेला बसन्तपुर देखि जावलाखेल सम्म होली खेल्न गइयो । परम्परागत शैली भन्दा निकै फेरिइसकेको होलि उत्सवमा पहिले जस्तो लोला हानाहान र जथाभावि रंग दल्ने प्रवृत्ति निकै कम भएको पाइयो । रंग भन्दा पनि कोलटार र अन्य हानिकारक चिजहरुको प्रयोग एकदमै कम पाइयो । व्यक्तिगत रुपमा भदा त मैले त्यस्तो देख्दा पनि देखेन र सुन्दा पनि सुनेन । साना वालवालिका फाट्टफुट्ट लोला हानिरहेका वाहेक निस्कनै नमिल्ने भयावह अवस्था थिएन । सुरक्षा व्यवस्था कडा पारिदिएकोमा प्रहरी प्रशासनलाई सबैले धन्यवाद दिनैपर्छ । होली उत्सवमा सभ्यता र शिष्टता थपिनु राम्रे पक्ष हो ।
होलीकै बेलामा आयोजना गरिएका कार्यक्रममा कलाकारहरुले देशको अवस्था प्रति गरेको चिन्ता सुन्दा एक किसिमको खुशी लग्थ्यो ।
“‘बसन्तपुरका ठिटा हो, एक हात माथि !’
‘कालीमाटीका केटा हो एक हात माथि !’
‘जागोस ठिटाहरु ! जागोस !!’
‘ठिटीहरुलाई एसिड नहानौँ है !’
‘आज हामी कस्सैले झगडा नगर्ने है!’”
बहिनीले बसन्तपुरको कार्यक्रममा सहभागी एक कलाकारको नक्कल गर्दै सुनाउँदै थिइ । जावलाखेल पुग्दा युवाहरुमाझ लोकपृय कबवेब सांगितिक समुहका कलाकारले समेत देशको संविधानका बारेमा चिन्ता प्रकट गरेको सुन्दा युवाहरुमाझ एकछिनका लागी भएपनि देशप्रतिको चिन्ता छाएको देखिन्थ्यो । यी युवाहरुका आदर्श बनेका कलाकारहरुले यसरी नै सचेतनामुलक कुराहरु पनि गरिदिएर नयाँ पुस्तालाई राम्रो संस्कार तर्फ अग्रसर गराउन सकेको खण्डमा परिवर्तनको बाटो निकै नै सहज हुने कुरामा सायदै कसैको दुईमत होला ।
हाम्रो समाज धेरै हदसम्म नियमकानुन भन्दा पनि आपसी सहमती र समझदारीमा चलेको पाएँ । प्रकृयागत कुराहरुमा धेरै समय र धनराशी लाग्ने भएकाले पनि सबैलाई मिलेमतोमा काम गर्ने बानी परिसकेको छ । कतिपय अवस्थामा मिलेमतोमो गरिने त्यस्ता कामहरु कानुन विपरित पनि हुने गर्छन । झट्ट हेर्दै हाम्रो यस किसिमको व्यवहारले हामीलाई फाइदा पु¥याउने देखिए पनि त्यसले एउटा गलत संस्कार बसाल्ने भएकाले दिर्घकालमा त्यसले सबैलाई हानी पु¥याउने देखिन्छ । यो कुराको जानकारी हामीले तब थाहा पाउँछौँ जब हामी त्यस किसिमको व्यवहारमा प्रत्यक्ष रुपमा संलग्न हुँदैनौँ । मानिसले आफू गलत गरिरहेको अवस्थामा भन्दा अरुलाई गलत गरिरहेको देख्दाका अवस्थामा गल्ती भएको थाहा पाउँदो रहेछ । केहि त्यस्ता स्थितिहरुसँग पनि सामना गर्नु प¥यो ।
‘म सानो छँदा मेरो स्याहास सुसार गर्ने टमटी (तामाको काम गर्ने कथित तल्लोजातकी आइमाइ)ले एक दिन मलाई उसको घरको खाना खुवान खोजी । मैले उसले जति जबरजस्ती गर्दा पनि खान मानेन । त्यतिबेला जातभात भन्ने कुरा एकदमै कडा रुपमा लिइन्थ्यो ।’ आमाले सुनाउँदै हुनुहुन्थ्यो । ‘अचेल ऊ मेरो घरमा आउँछे । सँगै चिया नास्ता हुन्छ । बाहिर जाँदा पनि म कसले पकाएको के कस्तो भनि वास्ता राख्दैन । परिवर्तन भनेको त्यस्तै त हो । हामीलाई पनि त फेरिनका लागी समय चाहिन्छ । सबै कुरा एकैचोटी खोजेर कहाँ हुन्छ ?’ जातीय छुवाछुतका सवालमा सुदूरपश्चिम एकदमै कट्टर मानिन्छ । सुदूर पश्चिमको डोटी जिल्ला अन्तर्गत सुदूर गाउँ जयनलीमा जन्मेकी अनि हुर्केकी मेरी आमाको परिवर्तन प्रतिको धारणाले साँच्चै सुदूरपश्चिम पनि फेरिँदै छ है भन्ने भान भयो ।
डडेल्धुराको शिक्षा क्याम्पसको प्राङ्गणमा पुरुष कर्मचारीसँगै काम गरिरहेका थुप्रै महिला कर्मचारीहरु पनि भेटिए । कतिपय कक्षाहरु महिला अध्यापकहरुले समेत लिनुहुने कुरा सुन्दा झनै खुशी लाग्यो । त्यो ठाउँ जहाँ मेरी आमाले विद्यालय पर भएका कारण उच्च शिक्षाको चाहनालाई विचैमा त्याग्नु परेको थियो, आज त्यही गाउँमा क्याम्पसमा अध्यापन गराउन सक्ने महिला जनशक्ति निर्माण भइसकेको छ । कक्षाहरुमा पनि थुप्रै महिला विद्यार्थीहरुको उपस्थिति हुनुले मन झन् दङ्गदास बनायो ।
चिया पसलमा कुरा एकजना हलियाले (अर्काको बारीमा हलो जोत्ने) हलिया मुक्तिको रकम पाएको चर्चा हुँदै थियो । पहिले पहिले कथित उच्च जातका मानिसहरुसँग मात्रै जमिन हुन्थ्यो । उनका जमिनमा अकैले खनजोत गरेर अन्न उमार्ने गर्थे । अन्न उब्जाए बापत केहि अन्न र लत्ताकपडामा चित्त बुझाउनु पर्दथ्यो । त्यो अन्यायपूर्ण मानि भिमदत्तले ‘कि जोत हलो, कि छोड थलो’ भन्ने आवाज उठाएका थिए । त्यो आवाज गुञ्जिएका डाँडा–पाखामा उनको भावनाको कदर भएको पाउँदा परिवर्तन भएकै छैन भनेर कसरी भनौँ ?
डँडेल्धुरा जस्तो ठाउँमा ३० थान कम्प्युटर सहितको कम्प्युटर कक्षाका साथ आधुनिक कम्प्युटर शिक्षाको थालनी भएकोलाई कसरी विकास नमान्ने । अझै अत्याधुनिक ई–लाईब्रेरी समेत भएको कुरा थाह पाउँदा हर्षको सिमा रहेन । ती थपिएका सेवा सुविधाको उचित संरक्षण र सम्बर्धन गर्नसक्ने जनशक्ति पनि त्यहाँ उपलब्द्ध हुने हो भने पहाडी भेगका सातै जिल्लाको लागी त्यो एउटा सूचना–प्रविधी सम्बन्धी शिक्षा हाँसिल गर्ने केन्द्रको रुपमा स्थापित हुने कुरामा कसैको दुइमत नहोला ।
समय अभावका कारण सबै ठाउँमा लामो समय विताउन सकेन । कहिले काठमाडौँ कहिले धनगढी त कहिले डडेल्धुरा गर्दै दिन सकिए । यसो हेर्दा परिवर्तनको तुलना हिजो र आजबाट भन्दा पनि दुई दशक अघि र अहिलेको परिस्थितिलाई तुलना गरेर मात्र थाह हुने रहेछ । पक्कै पनि यी परिवर्तन पर्याप्त छैनन् । अझै धेरै हुन र गर्न बाँकि छ । त्यसका लागी सबैले सकारात्मक सोच राख्नु पहिलो आवश्यक शर्त हो । विकासका काममा सहभागी हुन नहिच्किचाउनु अनि ‘मैले मात्रै गरेर के हुन्छ र ?’ भन्ने मानसिकताबाट मुक्त हुनु दोश्रो शर्त हो । सबैले सामुहिक हितका कार्यकोलागी एकअर्कालाई मद्दतको संस्कार बढाउनु अहिलेको आवश्यकता हो । यी कुराहरु सबैले मनन गरिदिए सायद देशको मुहार हामीले कल्पना गरेको समय भन्दा पनि अघि नै फेरिने थियो ।
यी शब्दहरु लेखिरहँदा मलाई कसैसँग केहि गुनासो गर्न मन छैन । यदी कसैसँग छ भने आफैसँग एउटा गुनासो छः देशलाई आवश्यक परेको बेलामा म त्यहाँ हुन सकेन । त्यसको तिरो मैले अब्बल शिक्षा हाँसिल गरिसकेपछि गाउँघर फर्कि तिर्नेछु । जुन माटोबाट म बनेँ त्यो माटोमा धेर–थोर क्षमताले भ्याए जति केहि फर्काउनेछु । यो मेरो बचन भयो ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला