दशैँ–तिहारः हिजो र आज

देशमा चाडबाडको माहोल छ । भरखरै बडा दशैँले घरआँगनबाट बिदा लियो । दर्शैको रौनक नसकिँदै दिपावलीले दैलो ढकढक्याइ सकेको छ । दशैँ–तिहारकै मुखमा देशबाट बाहिर निस्केको मान्छे । यसपाली पनि जोड्यो भने दशैँ–तिहार छुटाएको तीन वर्ष पुग्न लाग्यो । उमेर बढ्दै जाँदा दशैँ तिहार प्रतिको आकर्षण घट्दै गएको भए पनि देशबाट बाहिर हुँदा भने खुब माया लाग्दो रहेछ । गएका दुई दशैँ तिहार जस्तै यो दशैँ तिहार पनि वर्षको अरु कुनै दिन जस्तो सामान्य तरिकामा बित्ने पक्का छ । तर पनि यो समयमा आएर पुराना दिनलाई फर्कि हेर्नु एकखाले रमाइलो नै हुँदो रहेछ ।
source: http://www.nepal24hours.com/en/dashain-vrat-katha-story-of-dashain/
सानो छँदा दशैँ भनेको नयाँ कपडा पाइने चाड । वर्षको एक जोड नयाँ कपडा पक्का हुन्थ्यो । त्यो दशैँमै लाउन पाइन्थ्यो । विद्यालयमा दशैँ तिहारको एक महिने छुट्टि कहिले सुरु होला भन्ने हुन्थ्यो । त्यसबेला दशैँ तिहारको छुट्टि प्रति कसैको आपत्ति थिएन । घटस्थापना देखी लिएर दिपावली नसकिँदा सम्म निर्धक्क बिदा पाइन्थ्यो । अनि बिदा सुरु हुनुभन्दा केही दिन अघि देखि नै साथीभाइमा नयाँ कपडाको विषयमा चर्चा सुरु हुन्थ्यो । सबैले आफ्ना नयाँ लुगासँग साथीको लुगाको तुलना गर्दथे । कसले पहिला लुगा पायो भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो । म त्यो प्रतिस्पर्धामा सँधै पछि पर्थेँ । जागीरे बुबा को छुट्टि नसकिएसम्म दशैँ सुरु हुने कुरै भएन । सधैँ घटस्थापना पछि नै दिन गन्ती सुरु हुन्थ्यो । प्राय फुलपाती कट्दैनथ्यो ।
लुगाका साथसाथै दशैँमा खानेकुराहरु पनि केही चाख्न पाइन्थ्यो । आमाले धेरै त पाकाउनु हुन्थेन तर सेलरोटी कहिल्यै टुट्दैन थ्यो । मौका परे अष्टमी पछि ‘चिचि’ पनि खाना पाइन्थ्यो । अनि टिकाको दिन केही दक्षीणा र नातागोताका व्यक्तिहरुसँगको भेटघाट । मलाई भेटघाट भन्दा पनि खानेकुरा र दक्षीणाकै बढि लोभ हुन्थ्यो । छोरो मान्छे हुनुको अवगुण, दक्षीणामा चाहीँ सँधै पछि परिन्थ्यो । त्यो एकबेला चाहिँ छोरी मान्छे हुन पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो ।
दशैँमा एक पारिवारिक फोटो सधैँ खिचिन्थ्यो । अहिले जस्तो घरघर क्यामेरा कमैसँग हुन्थ्यो । घरमा टिका जमरा गरेर फोटो स्टुडियोमा फोटो खिच्न गइन्थ्यो । अझै पनि परिवारिक फोटो एल्बममा ती पुराना तस्वीरहरु छन् । ती फोटाहरु अहिले आफ्नो बाल्यकाल सम्झने एकमात्र माध्यम भएका छन् । त्यसबेलाको लवाइ र आफ्नो हुलीयाको प्रमाण बोकेका एक मात्र दस्ताबेज । अरुबेला उती फोटो खिचिँदैनथ्यो ।
source: http://en.wikipedia.org/wiki/Durga_Puja
धनगढी सीमा क्षेत्रको बजार भएकाले पनि यहाँ मारवाडीहरुको उपस्थिती पहिले देखि नै थियो । दशैँकै बेला सहरका मारवडीहरु मिलेर दुर्गाको मुर्ती स्थापना गर्ने गर्दथे । घटस्थापना सुरु हुनु अघि देखि नै मुर्ती बनाउने क्रम सुरु हुन्थ्यो । खुलामञ्च भएर विद्यालय जानु पर्ने हुँदा मुर्ती कति बनि सक्यो भन्ने बेलाबेला बुझ्न पाइन्थ्यो । मुर्ती पूर्णहुनुले छुट्टि सुरु हुनुको संकेत गर्दथ्यो । घटस्थापना सम्म मुर्ती को मुहार छोपेर राखिन्थ्यो । पुजा सुरु भए पश्चात मुर्तीको मुहार देख्न पाइन्थ्यो । हरेक साँझ त्यही खुला मञ्चमा रामायण पनि मञ्चन गरिन्थ्यो । सबै हिन्दी भाषामा हुन्थ्यो । पहिले पहिले नबुझिए पनि पछि पछि बुझ्न उति गाह्रो भएन । नाटकले गर्दा रातीको बेला पनि खुलामञ्चमा बजार जस्तै लाग्ने गथ्र्यो पछिपछि आएर दशैँ मेलाको चलन चल्यो । हामी कहिले काहीँ टोलछिमेक जम्मा भएर रातीराती हेर्नका लागि जाने गथ्र्यौँ ।
दशैँको टिकाको दिनको अर्को रमाइलो पक्ष भनेको यसै दिन खुलामञ्चमा रामायणको अन्तिम युद्ध हुन्थ्यो । अरु दिन रातीहुने भएपनि यो दिन सम्साँझमा नै नाटक सुरु हुन्थ्यो । यसै अन्तिम दिनका लागि भनेर खुलामञ्चमा दशैँको केही दिन अघिदेखि नै रावणको भीमकाय पुतला बनाउने क्रम सुरु हुन्थ्यो । दशटाउके रावणको शरीर भरि पटाका बाँधिएको हुन्थ्यो । नाटकको अन्तमा रामले रावणलाई तीर प्रहार गर्थे । तीरको टुप्पोको आगोले रावणको पुतला जल्न सुरु हुन्थ्यो । एकखालको छुट्टै उल्लासको बातावरण हुन्थ्यो । सबै होहल्ला गर्दै आकास छुनखोज्ने पटाकाहरुलाई नबिराइ हेरिरहन्थ्यौँ । जलिसकेपछि पुतलाबाट बचेको बाँसलाई ठूला दाइहरु रावणको हड्डि भन्दै लैजान्थे । हामीले किन लिएको भन्दा, ‘यसले भुत भगाउँछ’ भन्थे ।
source: http://www.youtube.com/watch?v=sWONrSxcgRg

दशैँ घरआँगनबाट बिदा हुन्थ्यो । केही हप्ताको रमाईलो अनि त फेरी तिहार आइ हाल्थ्यो । तिहारमा न नयाँ कपडा लाउन पाइन्थ्यो न त दशैँको जस्तो रामायण नै मञ्चन हुन्थ्यो । तर तिहारको आफ्नो छुट्टै आकर्षण थियो । तिहारका बेला औँसी देखि देउसी भैलो सुरु हुन्थ्यो । पहिले पहिले लक्ष्मी पुजाको दिनमा मात्रै खेल्थे पछि आएर गोबर्धन पुजामा पनि खेल्न थाले । पछिपछि तिहारकै दिन सम्म पनि खेल्न सुरु गरे । तिहारमै साँझ पर्ने वित्तिकै बत्तिको झिलिमिली सुरु हुन्थ्यो । वर्षको एक दिन (पछि लक्ष्मीपुजा बाहेकका दिनमा पनि बत्ति बाल्न थालियो)मात्रै भएपनि सबैको घरमा उज्यालो छाउँथ्यो । आमाबाबुले हामीलाई अबेर राती सम्म डुल्न अनुमति दिने यही समयहो । लक्ष्मी पुजा देखि हाम्रो एउटै ध्याउन्न भनेको टोलका केटाकेटी बटुलेर देउसी–भैले खेल्न जाने जम्मा भएको पैसा अन्तमा बाँड्ने । तिहारका दिनमा टिकाको दक्षिणा दिनलाई कहिले काहीँ त्यही पैसाले पुग्थ्यो । कहिले बुबासँग मागेर दिनु पथ्र्यो ।
source:hhttp://nepaliaustralian.com/tag/bhailo/
सानो छँदा देउसी भैलोका धेरै सम्झना छन् । प्राय देउसी भैलोमा गाउने म नै हुन्थेँ । त्यसैले रेडियोमा बज्ने देउसी भैलोको गीत लक्ष्मी पुजा अघि देखि नै कापीमा सारेर देउसी भैलोको तयारी सुरु हुन्थ्यो । देउसी भैलो खेल्न जाँदा चार पाँच जानाको हुल काफी हुन्थ्यो । कतिपय बेला हामी चार जनाको समुहलाई पनि बाँडेर दुई–दुई जना अलग अलग समुह बनाएर माग्न जान्थ्याँै । त्यसो गर्दा एक रुपैयाँ दिने घरबाट पनि दुई रुपैयाँ झार्न सकिन्थ्यो । पैसा नदिने घरहरुका कि त गमला फुट्दथे कि त बत्तिहरु गायब हुन्थे । जानु अघि जोरजोरले ‘छाना माथी अदुवा ...’ भन्न पनि बाँकी राख्दैन थ्यौँ ।
टिकाको दिनपछि चाडबाड सकिन्थ्यो । त्यसै दिनपछि विद्यालयको विदाहरु पनि सकिन्थ्यो । दुईतीन दिनमै विद्यालय खुल्थ्यो । फेरी विद्यालयमा दशैँ तिहारको कथा साटासाट हुन्थ्यो । कसले बढि रुपैया जम्मा ग¥यो ? कसले कुन पटाका पट्कायो ? आदिईत्यादी । विदाको गृहकार्य कहिल्यै गरिन्थ्यो कहिल्यै नगरेकोमा कुटाइ थापिन्थ्यो । यसरी नै वर्षका रमाइला क्षणहरु बित्दथे ।
माथिका कुराहरु लेखि रहँदा समयले कति कोल्टो फेरी सकेछ जस्तो लाग्छ । अहिलेको दशैँ तिहार उहिलेको जस्तो लाग्दैन । सायद उमेरले गर्दा पनि होला । विदेश पस्नु अघिका दशैँ तिहार पहिलेको तुलनामा निकै फरक भइसकेका थिए । फेरिएको संस्कार र संस्कृतिलाई लिएर एकताका लेख पनि लेख्न भ्याएको थिएँ । समयसँग जनचेतनाको स्तर पनि बढेको छ । पहिलेका धेरै संस्कारहरुमा अहिले प्रश्न तेस्र्याउन थालिएको छ । ती मध्ये केहीमा मैले पनि केही लेखौँ लाग्यो ।
अष्टमीको पशुबलि पहिले रमिता हुन्थ्यो । अष्टमीको बलीले वर्ष दिनमा कहिल्यै मासु नपाक्ने घरमा पनि मासु पाक्ने गथ्र्यो । हुन त हुनेलाई मासु नहुनेलाई आँशु पनि हुन्थ्यो होला । तर पनि मासु र दशैँ अलि अभिन्न जस्तै लाग्दथे । अहिले पशुबलीको विरोध गर्नेको जमात ठुलो भइसकेको छ । कतिले यसलाई हिन्दु संस्कारमाथि रोक लगाउन खोजेको आरोप सम्म लाउँछन् । म आफु शाकाहारी भएकोले मलाई त्यसमा आपत्ति लाग्दैन । तर के चाहीँ पक्का हो भने मासुखानेले पशुबलिको विरोध गर्नु चाही पुरै पाखण्डी पना हो । बुचरले गला मुन्तिरबाट रेटेर (हलाल गरेर) बनाएको मासु गमागम खाँदै सामाजिक संजालमा पशुबलीको विरोध गर्नु बेतुक लाग्छ । पशुबली अलि क्रुर भने पक्कै हो । नरबलीको प्रथा(डडेलधुराको अजयमेरुकोट जस्ता पुराना दरबारहरुमा नरबली दिइने स्थानहरु सुदूरपश्चिममै पनि भेटिन्छन्) देखि लिएर सती प्रथा सम्मलाई धर्मको अभिन्न अंगका रुपमा परिभाषित गरिएको कालखण्डलाई पार गरेर, ती प्रथाहरुलाई इतिहासका कुप्रथाका रुपमा परिभाषित गर्न सामथ्र्य भइसकेको हाम्रो समाजका लागी सार्वजनिक पशुबली रोक्दा धर्म नै नासिन्छ भन्नु पनि उति तर्कपूर्ण देखिँदैन । धर्म र संस्कार एकै होइनन् । संस्कार र संस्कृति जीवनपद्दती हुन् र ती समयसँगै फेरिँदै जान्छन् । जस्तो सती प्रथाको अन्त हुनुले हिन्दु धर्मको अन्त गरेन त्यस्तै बलि प्रथा अन्त हुँदा पनि हिन्धु धर्म अन्त हुने होइन । युट्युब लगायतका सामाजिक संजालहरुमा पशुबली सम्बन्धी भिडीयो मुनीतिरका विदेशी प्रतिक्रियाहरु देख्दा नरमाइलो अवश्यै लाग्यो । इन्टरनेटमा विदेशी पशुबली सम्बन्धी खोजी गरी हेर्दा अचेल विकसित मुलुकहरुमा पशुलाई कम पिडाहोस भन्नका लागी उनीहरुलाई ग्यास, विद्युत, गोली, आदि प्रयोग गरेर बेहोस बनाइँदो रहेछ । यहाँ यस्ता प्रकृयाहरुको सुरुवात उन्नाइसौँ सताब्दीको मध्यतिरबाटै सुरु भइसकेको रहेछ । धार्मिक पशुबलीहरुका हकमा भने विवाद अझै कायमै छ । उदारता देखाएर कम गर्दै लैजाने या निरन्तरता दिने नयाँ पिढीको जिम्मामा छ । पशुबलिको अन्तले टोलछिमेकमा कसले कति बलि दिने भन्ने होडबाजी चाहीँ कम हुने पक्का छ ।
source: http://niketgupta.blogspot.com/2011/10/shubh-deepawali.html
दशैँ पछि तिहारको कुरा । तिहारका बेलामा विद्युतीय खपतलाई कम गर्न विद्युत प्राधिकरणले जारी गरेको उर्दी अहिले तातो बहसको विषय बनेको छ । त्यसका पक्ष र विपक्षमा विभिन्न तर्कहरु गरिँदै छन् । विद्युतीय खपत कम गर्न विजुलीको सट्टा मैनबत्ती र दियो बालेर दिपावली गर्नु सायद यसको समाधान हुन सक्छ । राज्यले देशका विद्युतीय माग पुरा गर्न सक्नु पर्दथ्यो भन्ने कुरामा चाहीँ कुनै दुइमत नभएपनि, लोडसेडिङ्गले सामान्य दिनहरुमा समेत विद्युतको माग पुरा गर्न नसकि रहेको सन्दर्भमा यस्तो अनुरोधलाई अतिरञ्जित बनाउनु उति जायज नहोला ।
त्यस्तै पटाका नपट्काउने उर्दी त हामी बढ्दै गर्दा देखि सुरु भएको हो । द्वन्द्वकालमा तिहार अघि पछि पनि पटाका पट्काउने क्रम सुरुभएपछि मेरो व्यक्तिगत रहर भने मरेको हो । धनजनलाई क्षति, दुर्घटनाहुने सम्भावनाहरु आफ्ना ठाउँमा छन्, ती खरीदगर्दा देशबाट बाहिरिने रकमलाई हेर्ने हो भने यो संस्कार कम गर्नु हाम्रालागी हितकर नै देखिन्छ । आँखिर यो हाम्रो संस्कारभन्दा पनि भारतीय संचारमाध्यमले भित्र्याएको संस्कार न हो । अर्को तर्फ आतिसबाजी संसारभरी हुने गर्दछ । विशेष गरी नयाँवर्षको पूर्व सन्ध्यामा विश्वभरी आतिसबाजी हुने गर्दछ । हाम्रै देशमा मात्रै बन्देज लाउनु अन्यायपूर्ण देखिन्छ ।
सबै भन्दा नरमाइलो लागेको भनेको देउसी भैलोलाई साँझ ७ बजे सम्म मात्रै सिमित राख्न जारी गरिएको उर्दी । हुन त यो लेख लेखि सक्दासम्म त्यो म्याद बढेर ९ बजे पुगिसकेको छ र पनि यस्तो बन्देजले संस्कारहरु कुण्ठित हुने पक्का छ । मेरो देउसी भैलोको अनुभव र अहिलेका केटाकेटीको देउसी भैलोको अनुभव एकै त सायदै होला । कहाँ ‘भनभन भाइहो...देउसीरे’ र कहाँ अहिलेको आधुनिक गितहरुबजाएर घरघरमा गरिने नाच । फेरी फिरौती शैलीमा मागिने पैसाको त कुरै नगरौँ । पहिलेपहिले मानिसहरुलाई देउसीभैलो समुहहरु आइदिए हुन्थ्यो, गाइदिए हुन्थ्यो लाग्दोहो अब चाहीँ भरसक नआए हुन्थ्यो, नगाए हुन्थ्यो लाग्छ । देउसी भैलो कार्यक्रम हाल आएर हरेक संघ–संस्था देखि लिएर पार्टी–समूहहरुको चन्दा संकलनको माध्यम भएको छ । पहिले पहिले हामी देउसी–भैलो खेल्न जाँदा साँझ दियो नबाले सम्म देउसीभैलोले पैसा पाइँदैन थियो । अहिले घामछँदै माग्न आइपुग्छन् । यस्ता चलनहरुले चाडबाडको पुरानो अनुभवलाई पक्कै खल्लो बनाएको छ । बन्देजै लाउने भएबरु यी विक्रितीमा अवश्य बन्देज लाउनु पर्दथ्यो । ‘सातबजे पछि मात्रै खेल्ने र चन्दा शैलीमा कुनै पनि रकमको माग गर्न नपाइने’ भन्ने उर्दी बरु सबैले स्वागत गर्दा हुन् ।
जेहोस् तिहार दैलोमा आइसकेको छ । यस उपलक्ष्यमा तिहार मनाउने सम्पूण नेपालीहरु लाई सुख एवं सम्बृद्धिको शुभ–कामनाको साथसाथै नराम्रा संस्कृतिको त्याग र पहिचान बोकेका मौलिक संस्कारहरुको निरन्तरताका लागि नयाँ पुस्तालाई अभिप्रेरित गरिरहन अनुरोध गर्दै विदा हुन्छु । अस्तु !
source:http://niketgupta.blogspot.com/2011/10/shubh-deepawali.html


Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी