फरक विश्वविद्यालयको फरक कक्षाकोठाबाट

नेपालको वरीष्ठ विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा विताएका करीब आठ वर्ष र सोही क्रममा निजी विद्यालयमा अध्यापन गर्दै विताएको समयसँग अहिले आएर यूरोपेली शैलीमा अध्ययन गर्ने अवसरलाई हेर्दा र ती दुई बीचको अन्तरलाई देख्दा यहाँको कक्षाकोठाको अनुभुति सबैसँग बाँड्ने मन लाग्यो । हुन त कुनै एक देश भित्रको एक सानो सहरको शिकाइ विधिलाई यूरोपेली शैली भनी सामान्यीकरण गर्नु त्यति उचित हुँदैन होला । तर पनि यो एक उदाहरण हुन सक्छ । त्यति पनि नभए एउटा कोरो अनुभवका रुपमा मात्रै भएपनि प्रस्तुत गर्न मन लाग्यो ।

प्रथम पटक कक्षाकोठामा प्रवेश गर्दा कक्षाकोठाको दृश्य कुनै पाँच तारे होटलको सम्मेलन कक्ष भन्दा कम थिएन । झण्डै पचास जना अटाउने क्षमता भएको कोठामा शिक्षणका क्रममा प्रयोगमा आउन सक्ने सम्पूर्ण सामग्रीको चाँजोपाँजो पहिले नै मिलाइ सकिएको थियो । श्रव्य–दृश्य सामग्रीहरु प्रस्तुत गर्नका लागि प्रोजेक्टर र ध्वनी यन्त्रहरु उपलब्द्ध देखिन्थे । त्यस्तै हाम्रो देशमा प्राय प्रयोगमा आउने कालो पाटीको बदलामा तल माथि सार्न मिल्ने दुई भिन्न भिन्न आकारका हरिया पाटीहरु कक्षाकोठाको अघिल्तिरको पर्खालमा देखिन्थ्यो । तिनलाई तल सार्दा पछिल्तिर सेतो पाटी देखिन्थ्यो । त्यो पाटीलाई प्रोजेक्टर प्रयोग गर्दा प्रयोगमा ल्याइन्थ्यो । कोठामा प्रकाशको मात्रा नियन्त्रण गर्नका लागि शिशाको झ्याल बाहिर स्वीचद्वारा खोल्न र बन्द गर्न मिल्ने पर्दाको व्यवस्था थियो । बस्नका लागि फलाम अथवा स्टीलका फ्रेममा हल्का काठको प्रयोग गरेर बनाइएका टेबल कुर्सीहरुको व्यवस्था थियो । कक्षाकोठाको तापक्रम उचित कायम गर्नका लागि हिटरको समेत व्यवस्था थियो । कक्षाकोठाकै एक कुनामा हात धुनका लागि वास वेसिनको पनि व्यवस्था गरिएको थियो । पछिका कक्षा कोठाहरुमा श्रव्य–दृश्य सामग्रीहरु देखाइने सेतो पाटीमै विद्युतीय कलमका माध्यमबाट लेख्न मिल्ने र पाटीमै देखिने स्वीचहरुमा औँलाले छोएर पाटीमा लेखिएका सबै चिजहरु एकै पटकमा मेट्न सकिने व्यवस्थाहरु पनि देख्दा केही दिन सम्म त दंगदास नै परिरहेँ । कक्षाकोठामा बढि भन्दा बढि श्रब्य दृश्य सामग्रीहरुको प्रयोगले कुनै पनि कक्षालाई एकोहोरो र निरश हुन दिएन । शिक्षण विधिमा प्रविधिको यस किसिमको व्यापक प्रयोगले शिक्षणलाई समयानुकुल एवं आकर्षक बनाउन मद्दत गरेको पाएँ ।
अध्यापनका लागि प्राध्यापकहरुले आफैले बनाएका पावरप्वाइन्ट स्लाइडहरु (नेपालमा प्राय प्रयोग हुने हाते नोटको आधुनिक रुप) मार्फत पढाइन्छ । बढ्दो सुचना प्रविधिको विकाससँगै शिक्षामा पनि यस्ता प्रविधिहरुको प्रयोग गर्ने उद्देश्यले हुनु पर्छ कक्षामा प्रयोग भएका यस्ता नोटहरु कक्षा सकिएपछि इन्टर्नेटमा विद्यार्थीहरुको प्रयोजनका लागि उपलब्द्ध गाराइन्छ । प्रविधिकै प्रयोगका सम्बन्धमा भन्नुपर्दा मानवीय संसाधन व्यवस्थापन विषयका प्राध्यापक डा. आर्मीन ट्रोस्टले कक्षाकोठाको आफ्नो लेक्चरलाई छायाङ्कन गरेर आइट्युनमार्फत विक्रिगर्ने गर्दछन् । यो अध्यापनमा व्यवसाकिताको चरम नमुना हो । आइट्युनमा विक्रिहुने लेक्चरको स्तर कत्तिको होला सबैले सहजै अनुमान गर्न सक्छन् । 

कक्षाकोठामा कमैले मात्र कापीकिताब बोकेर ल्याउने गर्छन् । प्रायले एप्पल कम्पनीका आधुनिक आइप्याडमा प्राध्यपकले अगाडी व्याख्या गरिरहेको स्लाइडहरु हेरिरहेका हुन्छन् । केहीले यस किसिमको सुविधालाई सामाजिक सञ्जाल प्रयोग गरेर दुरुपयोग गरेको पनि यदाकदा देख्न पाइन्छ । यस्ता सामग्रीको प्रयोग प्राध्यापक पिच्छे फरक हुने गर्दछ । केही प्राध्यापकले यस्ता सामग्रीको दुरुपयोगलाई मध्यनजर गरेर कक्षाकोठामा विद्युतीय सामग्री ल्याउन पूर्णतया बन्देज गरेका पनि हुन्छन् भने कतिपय कक्षाहरुमा विद्यार्थीले कक्षा भइरहेका बेलामा फाष्ट फुडका प्याकेट र कफी लगायतका पेयहरु राख्नुलाई पनि सामान्य रुपमा लिने गरिन्छ । एकपटक त प्राध्यापक आफै एकहातमा कफी बोकेर कक्षाकोठामा पसेका थिए ।
हुन त एक विकसित देशको आधुनिक प्रविधिसँग हाम्रो साधन श्रोतले प्रतिस्पर्धा गर्न सक्ने स्थिति नहोला र पनि कतिपय कुराहरु हालकै विद्यमान साधन श्रोतको घेरा भित्र रहेर पनि प्राप्त गर्न सकिन्छ । भौतिक पूर्वाधारका अलावा पनि शिकाइका कुरामा यहाँ धेरै भिन्नता पाएँ । नेपालमा जस्तो यहाँ एकै दिनमा चार पाँचवटा विषयहरु पढाइ हुँदैन । त्यसले गर्दा विद्यार्थीले एकै दिनमा चार पाँच नयाँ कुराहरुको सामना गरिरहनु पर्दैन । एकै विषय लामो समयसम्म पढ्दा धेरै कुराहरु समेट्न सकिन्छ । करीब एक दिनको कक्षामा एक पाठ सिध्याइन्छ ।

कतिपय कक्षाहरुमा प्राध्यापकहरु हाँसो मजाक गर्दै एकदमै सहज वातावरणमा कक्षाहरु सञ्चालन गरिरहेको पाइन्छ । विश्वविद्यालयकी डिन प्राध्यापक निकोला हेलको पहिरन हेर्दा सायदै कसैले उनलाई डिन भनि पत्याउला । मस्किँदै र जिस्किँदै पढाउने उनको बानीले कक्षालाई कहिल्यै पट्यारलाग्दो हुन दिँदैन । सायद कक्षाकोठामा सहज वातावरण कायम हुँदा सिकाइ बढि प्रभावकारी हुने भएकोले यसो गरिएको होला । 

पढाइका क्रममा सकेसम्म वास्तविक जीवनसँग सोझो सम्बन्ध राख्ने अभ्यासहरु मार्फत सिकाउने प्रयास गरिन्छ । प्राध्यापकहरु आफै पनि विभिन्न कम्पनीहरुको माथिल्लो तहमा काम गरिसकेका वा गरिरहेका हुनाले पनि उनीहरुले यस किसिमका उदाहरणहरु बढि रुपमा प्रयोग गर्ने गर्छन् ।

विना आधुनिक प्रविधिको प्रयोग नै पनि शिकाइमा रोचकता र सार्थकता थपिन सकिने एक अर्को उदाहरणका रुपमा एउटा जर्मन भाषाको कक्षामा गरिएको एक प्रयोगलाई उल्लेख गर्न सकिन्छ । जर्मन भाषाको उक्त कक्षामा आफूलाई थाहा नभएको ठाउँमा जानका लागि जर्मन भाषामा जानकारी कसरी माग्ने र प्राप्त जानकारीलाई कसरी बुझ्ने र प्रयोग गर्ने भन्ने कुरा सिकाउनका लागि पहिले आवश्यक शब्द ज्ञानहरु कक्षाकोठामै उपलब्द्ध गराइयो । त्यसपछि दुई–दुई जनाको समूह बनाइ आधा घण्टाको समय भित्रमा सबैलाई आफूले चाहेको ठाउँमा गइ त्यहाँ सम्म पुग्ने निर्देशनहरु कापीमा लेखी कक्षा कोठामा फर्कन लगाइयो । भोलिपल्ट अघिल्लो दिन संकलन गरेर ल्याइएका निर्देशनहरुबाट गन्तव्यलाई गोप्य राखी फरक फरक विद्यार्थी समूहलाई ती निर्देशनहरु बाँडियो । ती फरक निर्देशनका साथमा विद्यार्थीहरुलाई गन्तब्य पत्ता लगाउनलाई कक्षाकोठा बाहिर पठाइयो । यस प्रयोगमा कुनै आधुनिक सामग्रीको प्रयोग भएको छैन । तर वास्तविक जीवनसँगको सादृश्यता देख्दा विद्यार्थीहरुलाई सिकाइको महत्व बुझ्न र सिक्न ज्यादै सहज भएको देखियो । सबैले हाँसि खुसी दिइएको काम गरे । अध्ययनका क्रममा विद्यार्थीले कक्षाकोठा बाहिर पनि जान पाउनु गजब थियो । त्यस्तै एक अर्को अभ्यासका क्रममा विद्यार्थीको एक सहि जवाफका लागि विद्यार्थीलाई एकएक कुकीको उपहार दिइएको थियो । यस क्रममा सबैलाई समान अवसर र सही उत्तर नआउञ्जेल प्रयास गर्ने मौका दिइएको थियो । विद्यार्थीलाई गाह्रा प्रश्न सोधेर कुकी बचाउने भन्दा पनि सहज प्रश्नहरु सोधेर प्रोत्साहित गर्नु त्यसो गरिएको थियो । खान र खेल्न पाइने यस्ता कक्षाहरु विद्यार्थीहरुका लागि अत्याधिक रोचक र लाभदायी देखिन्थे । यसले सिकाइको स्तरलाई धेरै माथि उचालेको देखिन्यो । आँखिर स्याबासी कसलाई मन पर्दैन ।
विद्यार्थीहरुलाई प्रश्न सोध्ने क्रममा सकेसम्म सबैको सहभागितालाई शुनिश्चित गर्नेगरी प्रश्नहरु सोध्न लगाइन्छ । कक्षाहरु बढि भन्दा बढि अन्तक्र्रियात्मक रुपमा संचालन हुनुले सम्पूर्ण विद्यार्थीहरु आफूलाई सहभागी भएको महशुस गर्थे । सकेसम्म सबैलाई जिज्ञासा राख्ने अवसर दिनका लागि अनि सबैले एकैसाथ प्रश्नहरु नराखुन भन्ने उदेश्यले पहिले हात उठाउने र त्यसपछि हात उठाएको क्रमअनुसार प्रश्नहरु राख्ने अवसर दिइनाले कक्षाको शान्ती भङ्ग हुन पाउँदैन । यहाँको सिकाइको सबै भन्दा महत्वपूर्ण भनेको विद्यार्थीहरुका गल्तीहरुलाई सामान्य रुपमा ग्रहण गरेर हसिलो मुहारका साथमा त्यसलाई सच्याइदिँदा विद्यार्थीले हिनताबोध गर्न पर्दैन्थ्यो ।
विभिन्न मुलुकका ५५६ आवेदनकर्ता मध्यबाट छानिएका अमेरीका, यूरोप, अफ्रिका र एशियाका विभभिन्न विकसित एवं विकासोन्मुख देशका ५० विद्यार्थीहरुको बहुसाँस्कृतिक समुहलाई एकआपसमा घुलमिल गराउनु र अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापन जस्तो चुनौतिपूर्ण विषयमा खरो उतार्नका लागि विश्वविद्यालयले शैक्षिक सत्रको सुरुवातमा सँधै जसो एक टिम अवे कार्यक्रम राख्ने गर्दछ । यस कार्यक्रम अन्तर्गत विद्यार्थीलाई एक गन्तव्यको नाम दिइन्छ र त्यहाँ आइपुग्नुपर्ने समय तोकिन्छ । विद्यार्थीहरुले आपसमा विभिन्न समूह बनाइ त्यसठाउँ सम्म पुग्न र त्यहाँ विताउने समयका लागि आवश्यक यातायात, खाना, आवास, आदिको सबै चाँजोपाँजो आफै मिलाउनु पर्दछ । यसपालीको टोलीको संयोजकका रुपमा म र एक जना यमनबाट आएकी छात्रा छानिएका थियौँ । संयोजकका रुपमा हामीले विद्यार्थी समूहलाई विभिन्न उप–समूहमा विभाजन गरी सकुसल कार्यसम्पादन गराउनु पर्ने थियो । सबै एक तहका भएकाले त्यहाँ कुनै आदेश चल्दैन थियो र संयोजन वास्तवमा एक सहकार्य जस्तै हुन गएको थियो । सानातीना कमीकम्जोरीहरुका बाबजुद कार्य सकुसल सफल भयो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न अभ्यासहरु दिइएका थिए । अभ्यासहरु जटिल नभए पनि एक–आपसको सहकार्य विना सम्पादन गर्न नसकिने खालका अभ्यासहरु थिए । विस्तारै सबै अभ्यासहरु सम्पादन गर्दै जाने क्रममा ५० जनाको समूह धेरै हदसम्म नजिकिएको र समूहगत कार्य सम्पादनका लागि आफ्नो अहं र साँस्कृतिकपूर्वाग्रह (मिल्दो भाषा एवं रहनसहन भएका व्यक्तिहरुसँग बेग्लै समूह बनाउने वा आफ्नो संस्कृति वा विचार अनुकुलका कुराहरु अरुमाथि लाद्न खोज्ने व्यवहार) विशेष बाधक हुने र खुला मस्तिष्क एवं अरुको विचारलाई सम्मान गर्ने बानीले विविधतायुक्त समूहमा कार्य सम्पादन गर्न सहज हुने कुरा बुझ्न वा भनौँ अनुभव गर्न सहज गरायो । यो अनुभुति कक्षाकोठाको अध्यापनबाट प्राप्त हुन नसक्ने कुरा हो । टिम अवे एउटा उदाहरण हो । यसका अलावा पनि विभिन्न विषयहरुको अध्ययनका क्रममा दिइने सामूहिक क्रियाकलापले समूहमा रहेर काम गर्ने क्षमताविकासमा निकै हदसम्म सहयोग पु¥याएको देखियो ।
विद्यार्थीहरुको मूल्यांकनको लागि पनि विषय पिक्षे फरकफरक विधि अपनाइएको पाएँ । जर्मन भाषाका लागि कक्षाहरुमा अनिवार्य उपस्थित हुनु पर्ने र तीन पटक भन्दा बढि अनुपस्थित भएका खण्डमा फेरी दोहो¥याउनु पर्ने शर्तहरु छन् भने एक अर्को विषयका लागि समूहमा रहेर करीब एक घण्टा लामो प्रस्तुती गर्नुपर्ने र सोही प्रस्तुती मार्फत मूल्याङ्क गरीने मापदण्ड राखिएको छ । थोरै विषयका लागि मात्र लिखित परीक्षाहरुबाट विद्यार्थीहरुको मुल्याङ्कन गर्ने गरिन्छ । कुनै विषयका लागि टिम अवे जस्तै सामूहिक क्रियाकलापबाट प्राप्त अनुभूतिहरुलाई प्रतिवेदन जस्तै गरी प्रस्तुत गर्नुलाई मात्रै पनि मूल्याङ्कनको मापदण्ड बनाइको देखिन्छ । 
फरक सिकाइ शैली, कक्षाकोठा भित्रको फरक माहोल, आधुनिक प्रविधीको व्यापक प्रयोग, प्राध्यापकहरुको फरक व्यवहार अनि फरक मुल्याङ्कन विधि नै यहाँको विशेषता हो । यिनै विशेषताले नै यहाँको शिक्षणलाई समयानुकुल बनाउनमा मद्दत गरेको छ । सायन यि मध्ये केहीकुराहरु हामीकहाँ पनि लागु गर्न सकिन्छ होला । त्यसो गर्दा हाम्रो देशको शिक्षाको स्तर अहिलेको भन्दा माथि उठ्ने निश्चित छ । अध्यापकको एकोहोरो पूराण वाचन शैलीका कक्षाहरु अनि गणीतीय शुत्रहरु र परिभाषा घोकेका आधारमा हुने मूल्याङ्कनले नयाँ युगका लागि आवश्यक मानव संसाधन तयार गर्न सायद नसक्ला कि ? 

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला