प्रवास, देश अनि चुनाव
देशमा रहँदा भन्दा देश बाहिर पसेपछि देशको माया बढ्दै जान्छ । देश प्रतिको चाँसो पनि अझै दोब्बर हुँदै जान्छ । देशमा हुन लागेका परिवर्तनहरुले बेलाबेला आशाका किरणहरुको काम गर्छ । विदेशमा बस्दाको दुःख र कष्टले गाउँघर त्यागी आउँदाका आशा र सपनाहरु फेर्दछ । मनमा त लाग्छ यत्तिको दुःख गर्दा घरैमा पनि त केही गर्न सकिन्थ्यो होला । फेरी देशको खबर बुझ्यो उस्तै छ । साना दुःखले त मान्छे विदेशै पो किन पस्छ र ? देशमा आजका मिति सम्ममा आएर थुप्रै परिवर्तन भए । हुन त विगतको तुलनामा देश धेरै अगाडी बढि सकेको छ । हाम्रा बाउबाजेका पालाको राजनीतिक चेतनाको स्तर र अहिलेको राजनीतिक चेतनाको स्तर हेर्ने हो भने त्यसमा आकास पातालको फरक छ । राजनीतिक रुपमा जनताहरुले पहिलेको भन्दा धेरै अधिकार पाइसकेका छन् । ००७ सालको परिवर्तनले जहानीयाँ राणा शासनको अन्त्य गरेर जनताको छोरोले पनि राज्यसत्ता संचालनमा ल्याउन सक्छ भन्ने प्रमाणित भयो । राम्ररी अभ्यास गर्न नपाउँदै शिशु अवस्थामै मारिएको त्यो प्रजातन्त्र फेरी ०४६ सालमा आएर बौरी उठ्यो । जनताहरुमा फेरी आशा पलायो । ०४७ सालको संविधान अनि एक दशक भन्दा लामो त्यसको अभ्यास सकिन नपाउँद...